PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली - नेपाल अनुपस्थित राष्ट्रपतिको चियापान, रामचन्द्र छिरेपछि शितल निवासमा के छ फरक?



प्रकाश भण्डारी

ओली - नेपाल अनुपस्थित राष्ट्रपतिको चियापान, रामचन्द्र छिरेपछि शितल निवासमा के छ फरक?

काठमाडौं : बिहानै शितल निवास प्रवेशको लाइन थियो। राष्ट्रपति रामचन्द्र पौडेलको निम्तो मान्न शितल निवास पुगेका थिए, संघ र प्रदेशका सांसद। कडा सुरक्षा जाँचपछि प्रवेश पाए सांसदले। शितल निवासमा कडा सुरक्षाजाँच हुन्छ नै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा पनि  कमी आएन।

भित्र छिरेपछि सांसद सिधै टेण्टमा पुगे। पाल टाँगेको ठाउँमा सांसद र अघिल्लोतिर थिए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको आसन। राष्ट्रपति पौडेलले लिखित मन्तव्य पढे। उनको मन्तव्यको सार थियो - राष्ट्रपतिको कर्तव्यबाट बिचलित हुने छैन।

झन्डै आठ मिनेटको राष्ट्रपतिको लिखित मन्तव्य सकिएपछि सांसदहरुले लाइन लागेरै पौडेल र उनकी पत्नी सबितालाई बधाई दिए। राष्ट्रपतिसँग सजिलो गरी फोटो खिचाउन नपाएकोमा थकथक मानिरहेका थिए सांसद। सांसदको बधाई दिने लाइन सकिएपछि पौडेल र उनकी पत्नी सबितासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटै ठाउँ बसेर चिया पिए, सांसदले क्याटरिङले उपलब्ध गराइरहेको पुरी - तरकारी खाए। चिया वार्ता केही समय चल्यो। पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र माधवकुमार नेपाल भने उपस्थित भएनन् शितल निवासमा।

आफूभन्दा ठूला नेता र मन्त्री भेटिनसाथ फोटो खिचाइरहेका भेटिन्छन् सांसदहरु पनि। राष्ट्रपतिसँग पनि त्यसैगरी फोटो खिचाउन खोजिरहेका थिए सांसद। तर सुरक्षाकर्मीले रोके।

चियावार्ता अघिको सम्बोधनमा पौडेलले राष्ट्रपतिबाट गरेको अपेक्षाप्रति सचेत रहेको भन्दै विश्वस्त बनाउन खोजे, चियापानमा सहभागी सांसदलाई। ‘गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु  र भविष्यमा पनि रहनेछु। राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही  निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु,’ पौडेलले भनेका थिए। आफ्नो भूमिकाबारे मात्रै पौडेल बोलेनन्, सांसदहरुलाई अबका चुनौतीबारे सजग गराउने प्रयास गरे। ‘संक्रमणकालिन न्यायको व्यवस्थापछि आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरुको न्यूनिकरण तथा नागरिकका उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु,’ पौडेलको टिप्पणी थियो।

यसअघिका राष्ट्रपतिबाट पौडेल झस्किएकै हुनुपर्छ। किनभने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा संसद विघटनाका लागि सिफारिस गरेपछि भण्डारीले तत्काल सदर गरिदिएकी थिइन्। जसको विरोधमा सडकमा आउने नेता मध्यमा एक थिए पौडेल। कांग्रेस नेतृत्वको गठबन्धनको लागि अगुवाइ गर्ने भूमिकामा पनि थिए पौडेल। पहिलो र दोस्रो कार्यकाल गरी ७ वर्ष राष्ट्रपति भएकी भण्डारी संविधानअनुसार नचलेको भनेर पौडेलले समेत भण्डारीको आलोचना गरेका थिए प्रतिनिधि सभा विघटनपछि। दरबारिया रवाफ अपनाएकोमा त भण्डारी आलोचित भइन् नै उनको सवारीले सास्ती पाएकोमा सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहन्थ्यो।

दशैंको टीका घुँडा टेकाएर लगाइ दिनेदेखि आफ्नो जुत्ता सेनालाई बोकाउनेसम्म रवाफ देखाएकी थिइन भण्डारीले। भण्डारीभन्दा अघि राष्ट्रपति भएका रामवरण यादव पनि विवादरहित रहन सकेनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सेनापति रुकमान्द कटुवाललाई हटाउने गरेको निर्णयलाई कार्यान्वयन नगरेर संवैधानिक राष्ट्रपतिले पनि कार्यकारीलाई हस्तक्षेप गरेको आरोप लागेको थियो यादवलाई।

यी दुबै राष्ट्रपतिका विवादबाट चेतेरै होला राष्ट्रपति निर्वाचित हुनासाथ पनि पौडेलले वाचा गरेका थिए ‘गणतन्त्र नेपालको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु।’ तर बोलीलाई  व्यवहारमा उतार्न कहाँ सजिलो छ र? राष्ट्रपतिमा शपथ लिनुअघि नै पनि पशुपतिमा पूजा गर्न जाँदा पौडेल आलोचित हुन पुगे - पूर्व राष्ट्रपति भण्डारीकै शैलीमा सडक खालि गराएको भन्दै। भण्डारी राष्ट्रपति हुँदा जसरी शितल निवासको प्रवेशमा कडाइमा कमी आएको छैन पौडेल आउँदा पनि। शितल निवास भित्र जनअभिमतबाट निर्वाचित राष्ट्रपति छ भन्ने आभास शितल निवास भित्र छिर्नेलाइ हुदैँन। बरु पाइला पाइलामा सुरक्षाकर्मीको कडा निगरानी र केरकारमा पर्नुपर्छ नै प्रवेश गर्नेले।

तर पौडेलेबाट सांसदहरुले समेत उनको शैली अघिल्लो राष्ट्रपतिको भन्दा फरक होस् भन्ने अपेक्षा गरेका छन्। नेपाली कांग्रेसका सांसद उदय शम्शेर राणाले राष्ट्रपति पनि मन्त्रीकै जतिको सुरक्षामा हिड्नुपर्ने तर्क गर्छन्। अरु देशका राष्ट्रपति जनतासँग पनि जोडिने भए पनि नेपालका राष्ट्रपति नागरिकबाट टाढा रहेको भन्दै उनले पौडेलले सार्वजनिक कार्यक्रमहरुमा समेत सहभागी हुनुपर्ने बताए। ‘पब्लिक फोरमहरुमा राष्ट्रपति/ उपराष्ट्रपतिहरु पनि सहभागी हुनुपर्छ। जनतासँग उहाँहरु पनि जोडिनुपर्छ। तर ठूलो सुरक्षाका साथ होइन। सामान्य मन्त्रीको जतिमात्रै सुरक्षामा सहभागी हुनुभयो भने राम्रो हुन्छ,’ उनले भने।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई अर्को कार्यकाल पनि सभापतिका लागि ‘वाक ओभर’ दिएका पौडेल देउवाकै समर्थनमा राष्ट्रपति बने। तनहुँबाट चुनाव जितेका पौडेललाई निर्वाचनका बेलामा चितवनमा भेटदा भनेका थिए - मलाई प्रधानमन्त्री बनाए देशलाई भलो हुन्छ। उनी प्रधानमन्त्री त बनेन् पदीय हिसाबले उनी त्यसभन्दा माथिल्लो पद राष्ट्राध्यक्षको भूमिकामा छन्। जनताको मतबाट निर्वाचित भएर राष्ट्रपति भएका पौडेलले वाचा गरेअनुसारै उनी गणतन्त्र नेपालको राष्ट्रपति बनेको आभास भने शितल निवासमा छैन। उनी राष्ट्रपति भएपछि पनि शितल निवासको ‘सामन्ती प्रवृति’मा कमी आएको देखिदैँन। यो त प्रारम्भिक रुझान मात्रै हो, पौडेलले नै भनेको गणतन्त्र नेपालको राष्ट्रपति कस्तो हुन्छ? त्यो देख्न भने अझै बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell