PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु



पहिलोपोस्ट

मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु

बुटवलः मोफसलको चर्चित ठूलो तिलोत्तमा गोल्डकपको २२औं संस्करण शनिबारदेखि सुरू भएको छ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिता उद्घाटन गरे।

उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी भएको छ। घरेलु टिम रुपन्देही ११ लाई ३-१ गोलअन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमका लागि दुई गोल फागुराम थारुले गरे। त्यस्तै अर्को गोल सोम्य हार्दिकले गरे। रुपन्देही ११ का लागि एक मात्र शान्त्वना गोल खेलको इन्जुरी समयमा फोडे फोफोनाले पेनाल्टीमार्फत गरे।

घरेलु मैदानमा दर्शकको साथ पाएको रुपन्देही ११ ले केही राम्रा अवसर पाए पनि सदुपयोग भने गर्न सकेन।

सुदूरपश्चिम ११ अब क्वाटरफाइनलमा आइतबार हुने हिमालय शेर्पा र थ्रीस्टार क्लबको विजेतासँग भिड्नेछ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन्। प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन्। उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन्।

खेल तालिकाअनुसार चैत ५ गते हिमालय शेर्पा र थ्रीस्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। ८ र ९ गते सेमिफाइनलका खेल हुनेछन्।

चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ। तत्कालीन बुटवल नगर पञ्चायतले २०३३ सालदेखि प्रतियोगिता सुरू गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell