PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

वाग्मती सरकारको नेतृत्व कांग्रेसले दाबी गर्छ कि गर्दैन? बहादुरसिंह लामालाई ५ प्रश्न



पहिलोपोस्ट

वाग्मती सरकारको नेतृत्व कांग्रेसले दाबी गर्छ कि गर्दैन? बहादुरसिंह लामालाई ५ प्रश्न

वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएसँगै वाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका हुन्। राप्रपाले संघीय सरकार र वाग्मती पनि छाडेपछि जम्कट्टेलले फेरि विश्वासको मत लिनुपर्ने भएको हो। जम्कट्टेलले विश्वासको मत लिँदा एमालेका मन्त्रीहरुले सरकार छोड्ने लगभग पक्का छ। यस्तो अवस्थामा प्रदेशकै पहिलो दल नेपाली कांग्रेसको तयारी के छ? सरकारको नेतृत्वमा दाबी गर्छ कि जम्कट्टेललाई नै सघाउँछ?

वाग्मती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामासँग निशा गुरुङले गरेको कुराकानीको सम्पादित अंश:

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकियो, अब प्रदेशमा त्यसको असर कस्तो पर्ला?

नेपाली कांग्रेस र अरु पार्टीहरुको गठबन्धन भएको छ। केन्द्र अनुरुप नै वाग्मती प्रदेशमा पनि हुन्छ। पहिला समीकरण जे भएको छ, त्यो भन्दा छुट्टै ढंगबाट अगाडि बढ्छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ। केन्द्रीय सरकारमा जसरी कार्यदल बन्छ त्यसैबाट मात्रै सत्ता समीकरणको छलफल हुन्छ।

वाग्मती प्रदेशको सरकारमा कांग्रेस सहभागी हुन्छ कि हुँदैन?

सरकारमा जाने-नजाने भन्दा पनि महत्वपूर्ण कुरा गठबन्धनको विषयमा कसरी जाने र कसरी हुने भन्ने हुन्छ। र, अहिले सत्ता गठबन्धनमा १० दल पुगेको छ। दश दलको बीचमा सत्ता समीकरणको छलफल हुन्छ। त्यसपछि मात्रै सरकारमा जाने नजाने सुरु हुन्छ।

सरकारको नेतृत्वमा दाबी रहन्छ होला नि तपाईंको?

दाबी नरहने भन्ने कुरै हुँदैन। एक त नेपाली कांग्रेस ठूलो दल हो र अर्को कुरा जो न्यायोचित ढंगबाट सत्ता समीकरण हुन्छ। जुन केन्द्रमा सरकार भए पनि वाग्मती प्रदेश एउटा सेन्टर पनि हो। संघीय राजधानी भएको र प्रदेश यही भएकोले पनि यसमा नेपाली कांग्रेसले दाबी नगर्ने कुरै हुँदैन। तर त्यसमा कार्यदलहरुको बीचमा छलफल हुन्छ।

तर अहिले वाग्मतीमा तपाईंहरुकै गठबन्धनमा रहेको दल माओवादीले नेतृत्व सम्हालिरहेको छ?

यो बाहिरी कुरा हो। अब के हुन्छ भन्दाखेरी सत्ता समीकरणको बीचमा अहिले नयाँ ढंगबाट गएको छ। यो बास्केटमा राखे हुन्छ। बास्केटमा राखेर सुरुवात हुन्छ। त्यही कारणले गर्दामात्रै अगाडि बढ्छ। यसले यो नै हुन्छ भन्ने कुरा छैन। त्यो पनि हुनसक्छ र अर्को पनि हुनसक्छ। यो कार्यदलको बीचमा जोडघटाऊ हुन्छ। कुन आफूले लिने कुन चाहिँ अरुलाई कति कति पाउने कार्यदलमा छलफल हुन्छ। यसपछि मात्रै यो निर्णय हुन्छ।

अरुलाई पालो दिँदादिँदै वाग्मतीमा कांग्रेसले नेतृत्व नपाउने देखियो हैन, अघिल्लोपटक पनि त्यस्तै भयो?

अब पहिलाभन्दा अहिले छुट्टै ढंगबाट हुन्छ। राजनीति हो केही तलमाथि त हुन्छ। तर पनि यो निर्णय पहिलाभन्दा छुट्टै ढंगबाट जान्छ भन्ने हाम्रो विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell