PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

आज स्ववियु निर्वाचन : बिहानैदेखि क्याम्पसमा विद्यार्थीको भिड, सुरक्षा बढाउँदै प्रहरी



पहिलोपोस्ट

आज स्ववियु निर्वाचन : बिहानैदेखि क्याम्पसमा विद्यार्थीको भिड, सुरक्षा बढाउँदै प्रहरी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ। ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो।

त्रिविले निर्वाचनको सबै तयारी पूरा भइसकेको जनाएको छ। निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ।

निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन।

काठमाडौं उपत्यकामा रहेका क्याम्पसमा बिहानैदेखि विद्यार्थीको घुइँचो लागेको छ। केही क्याम्पसहरुमा भने मतदान स्थगित भएका छन्। त्यसैले ती क्याम्पसहरुमा प्रहरीले सुरक्षा बढाएको छ।

सोह्रखुटेमा रहेको सरस्वती बहुमखुी क्याम्पस, प्रदर्शनी मार्गमा रहेको आरआर, ल क्याम्पस, कीर्तिपुरको केन्द्रीय क्याम्पसमा अहिले विद्यार्थीको भिड बढ्दो छ।

मतदान केन्द्र यी सामान लैजान प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ। निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रङ, मसी लैजान निषेध गरिएको छ।

यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ। यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ।

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell