PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक बस्दै, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक पेश हुँदै

काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सुरुवातमा नै सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धमा पत्रहरुको व्यहोराबारे जानकारी गराउनेछन्।

उनले प्रतिनिधसभा सदस्यको एक स्थान रिक्त रहेको व्यहोरा पनि सभामा जानकारी गराउने कार्यतालिका रहेको छ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम रहेको छ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

आज बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' पेश गर्नेछन्। यस्तै, राष्ट्रपति प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही र नेमकिपाका प्रेम सुवालले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९'  आज बैठकमा पेश गर्नेछन्।

यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell