PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

स्ववियु निर्वाचन : मतदान सुरु, मकवानपुरका ७ वटा क्याम्पसमा हुँदै निर्वाचन



पहिलोपोस्ट

स्ववियु निर्वाचन : मतदान सुरु, मकवानपुरका ७ वटा क्याम्पसमा हुँदै निर्वाचन

हेटौंडा : त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अन्तर्गत मकवानपुरका ७ वटा क्याम्पसमा मतदान सुरु भएको छ।

मकवानपुरको पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत स्ववियुको नेतृत्व चयन भइसकेको छ। मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान भइरहेको छ।

मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार ९१ जना, हेटौंडा क्याम्पसमा ८९७ जना र वन विज्ञान अध्ययन संस्थानमा ४३९ जना विद्यार्थी मतदाता रहेका छन्। मकवानपुरका सबै क्याम्पसमा दुई वटा प्यानल बनेर प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)को अर्को प्यानल रहेको छ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) प्यानलबाट मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवराज शर्मा पौडेल, हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुका अरुण अधिकारी, जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) की मुना गोले, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल र मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ अध्यक्षका उम्मेदवार छन्।

नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसं प्यानलले मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा, हेटौंडा क्याम्पसमा नेविसंघका राजीव फुयाल, वन विज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कँडेल, जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघका सुजन धिमाल, वंशगोपाल बहुमुखी क्याम्पसमा राप्रविसंकी मनिका गौतम, निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका जयबहादुर रोक्का र मनहरी बहुमुखी क्याम्पसमा नेविसंघका किशोर लम्साल अध्यक्षका उम्मेदवार छन्।

पालुङ बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पुश्कल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन्। स्ववियु निर्वाचनका लागि मकवानपुरका सबै क्याम्पसले मतदान र मतगणना स्थलको तयारी सम्पन्न गरिसकेका छन्। सबैभन्दा बढी विद्यार्थी भएको मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्र रहेको छ भने मतगणना स्थलमा तारजाली लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell