PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

रसिया-युक्रेन युद्धको असर बालीमा : स्थानीय रोजगार गुमाउँदै, विदेशी पर्यटकलाई किन मोटरसाइकल चलाउन लगाइँदैछ रोक?



पहिलोपोस्ट

रसिया-युक्रेन युद्धको असर बालीमा : स्थानीय रोजगार गुमाउँदै, विदेशी पर्यटकलाई किन मोटरसाइकल चलाउन लगाइँदैछ रोक?
Photo : Getty Images

इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरुलाई मोटरसाइकल प्रयोग गर्न रोक लगाउने तयारी भइरहेको छ। विदेशी पर्यटकबाट ट्राफिक नियम तोड्ने र ट्राफिक प्रहरी र नागरिकलाई दुर्व्यवहार गर्ने घटना बढेपछि यस्तो नियम लागू गर्ने तयारी भइरहेको हो।

बालीका गभर्नर वायन कोस्टरले विदेशी पर्यटकले कपडा, हेलमेट र लाइसेन्स बिना नै मोटरसाइकल चलाउने गरेको पाइएको बताएका छन्। फेब्रुअरीको अन्तिम सातादेखि मार्चको पहिलो सातासम्म मात्रै १७१ जना विदेशी नागरिकले ट्राफिक नियम तोडेको पाइएको छ। केही विदेशी पर्यटकले नक्कली 'लाइसेन्स प्लेट'को प्रयोग गरेको समेत खुलेको छ।

'यदि तिमी पर्यटक हौ भने पर्यटक जस्तै व्यवहार गर,' गभर्नरले भने।

बालीमा सार्वजनिक सवारी साधनको राम्रो व्यवस्था नभएकाले विदेशी पर्यटकहरु मोटरसाइकलमा घुम्न रुचाउने गर्छन्। बालीका धेरै स्थानमा सजिलै पुग्ने र ट्राफिक छल्न सक्ने भएकाले पर्यटकको रोजाइमा मोटरसाइकल पर्ने गर्छ। तर, अब मोटरसाइकलमा प्रतिबन्ध लगाएपछि पर्यटकका लागि ट्राभल एजेन्टद्वारा गाडी उपलब्ध गराइने भएको छ।

यो कानुन यही वर्ष लागू हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्। यस्तै, यो कानुन लागू हुँदाका मापदण्डसमेत अहिलेसम्म प्रष्ट गरिएको छैन।

तर, अधिकांश विदेशी पर्यटकहरुले भने आफूहरु स्वतन्त्र भए घुम्न रुचाउने भन्दै मोटरसाइकलको प्रयोगमा प्रतिबन्ध लगाउन नहुने बताएका छन्। केही विदेशी पर्यटकले भने मोटरसाइलमा मदिरा सेवा गरेर र हेलमेट नलगाइ घुम्ने घटना बढेको भन्दै सो प्रावधानको समर्थन पनि गरेका छन्।

व्यापारीहरुले भने यो नियम लागू भए यसको असर व्यापारमा पर्न सक्ने बताएका छन्। बालीको उडयाना विश्वविद्यालयका लेक्चरर सुकमा अरिदाले भने मोटरसाइकल प्रतिबन्ध गर्नुभन्दा नियमन गर्नुपर्नेमा जोड दिएका छन्। सबै विदेशी पर्यटकले नराम्रो व्यवहार नगर्ने भन्दै उनले लाइसेन्स, हेल्मेटको प्रयोगको सुनिश्चितता, सेक्युरिटी डिपोजिटको व्यवस्था र ट्राफिक नियम पालना नगर्नेलाई कारवाही गर्नुपर्ने उनले बताए।

तर, यो नियम लागू गर्नुको पछि कारण अर्को पनि छ। त्यो हो रसिया र युक्रेनबिचको युद्ध। त्यसैले यो नियमको समर्थक पनि धेरै छ।

रसिया र युक्रेनको सम्बन्ध के ?

पछिल्लोसमय बालीमा रसिया र युक्रेनबाट आएका पर्यटकको गतिविधि ठिक नभएको भन्दै गभर्नरले उनीहरुको भिसा नै रद्द गर्ने चेतावनीसमेत दिएका छन्। ती देशमा युद्धका कारण धेरै मानिस बाली आएको तर उनीहरुले त्यहाँको नियम पालना नगरेको उनले बताए।

'रेसिडेन्स पर्मिट' लिने क्रममा नियम तोडेको भन्दै गत हप्ता केही रसियाली पर्यटकलाई प्रहरीले पक्राउसमेत गरेको थियो। केहीले भने भिजिटर भिसाको दुरुपयोग गर्दै व्यापार व्यवसाय गरिरहेकोसमेत पाइएको छ।

यस्तै, बालीका स्थानीयहरु विदेशी पर्यटकले भिसा दुरुपयोग गर्दै व्यापार गरिरहेको भन्दै असन्तुष्ट पनि रहेका छन्। खासगरी रसिया र युक्रेनका नागरिकका कारण अहिले स्थानीय व्यापारी प्रभावित भएका छन्। गभर्नर कोस्टरले केन्द्र सरकारलाई रसिया र युक्रेनका नागरिकलाई 'भिसा अन अराइभल'को सेवा नदिन पत्र नै लेखेका छन्।

'उनीहरु युद्ध लडिरहेका छन्। उता असुरक्षित महसुस गरेपछि उनीहरु बाली आएका छन्। तर यहाँ उनीहरु छुट्टी मनाउन आएका होइनन्। यहाँ आएर आराम गर्न र काम गर्न आएका हुन्,' कोस्टरले भनेका छन्।

इन्डोनेसियाका पर्यटन मन्त्री सानडिएगा उनोले भने गभर्नरको आग्रहबारे सोच्ने प्रतिक्रिया दिएका छन्।

सन् २०२२ मा मात्रै बालीमा ६० हजार रसियाली पर्यटक आएको सरकारी तथ्यांकले देखाएको छ। सेप्टेम्बर यता भने महिनाको २० हजार रसियालीहरु बाली पुग्ने गरेका छन्। बाली पुगेका उनीहरुले कपाल काट्ने, ट्याक्सी चलाउने लगायतका काम गरिरहेका छन्। 'वर्किङ भिसा' नलिइ उनीहरुले काम गर्दा स्थानीयले रोजगारी गुमाइरहेका छन्। बालीमा युक्रेनी नागरिकहरुको संख्या पनि बढ्दो छ। उनीहरुले पनि बालीमा आएर काम गर्दा स्थानीयको रोजगारी प्रभावित भएको छ।

युक्रेन र रसियाबाट आउने र गैरकानुनी रुपमा काम गर्नेको संख्या बढेपछि यही महिनामात्रै प्रादेशिक सरकारले सरकारी स्वीकृति बिना काम गर्नेहरु विरुद्ध अभियान नै संचालन गरेको थियो। सरकारले 'टास्क फोर्स' नै गठन गरेर पर्यटकहरुलाई गैरकानुनी काम नगर्दा अभियान चलाएको थियो। सो 'टास्क फोर्स'ले पहिलो हप्ता नै ६ जना पर्यटकलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने सबैजना रसियाली नागरिक थिए। पछि इन्डोनेसियाले उनीहरुलाई 'डिपोर्ट' गरेको थियो।

अहिले बालीमा धेरैजसो व्यवसायीहरु रसियाली नागरिकको आगमनले चिन्तित बनेका छन्। पछिल्लो समय बाइक सिकाउने देखि 'लोकल गाइड' बनेर रिसियालीहरुले बालीमा काम गरिरहेको व्यवासयी बताउँछन्।

'पहिला स्थानीय गाइडसँग उनीहरुले हिमाल चढे। त्यहाँको रुटबाट थाहा पाए। अहिले उनीहरु नै गाइड बनेर हिँडेका छन्,' एक व्यवसायीले भने।

बालीमा विदेशी पर्यटकको बढ्दो चहलपहलसँगै गत फेब्रुअरी मा रसियालीसँगै अन्य देशका नागरिकलाई लक्षित गर्दै एउटा इन्स्टाग्राम अकाउन्ट खोलिएको थियो। 'मस्को च्याप्टर बाली' नाम दिइएको सो अकाउन्टमा गैरकानुनी रुपमा काम गरिरहेका रसियाली र अन्य देशका व्यक्तिहरुको बारेमा जानकारी दिने गरिन्छ। सुरुवातको महिनामा सो अकाउन्टमा १०० वटा भन्दा बढी विदेशी नागरिकाबारेमा 'रिपोर्ट' आएको थियो। ३६ हजार बढी फलोवर्स भएको सो अकाउन्ट पछि 'कम्युनिटी स्ट्यान्डर्ड' उल्लंघन गरेका कारण 'सस्पेन्ड' गरिएको थियो।

सो अकाउन्टमा रसियाली नागरिकले 'बिलबोर्ड' राखेरै कसरी व्यवसायहरु प्रचार प्रसार गरिरहेको सूचना दिइएको थियो। सो नागरिकले इन्टाग्रामबाटै आफ्नो व्यवसायको प्रचार गरेका थिए। पछि सो अकाउन्टलाई 'प्राइभेट' गरिएको थियो।

स्थानीयले विदेशीले गैरकानुनी रुपमा व्यापार गरिरहेको घटनाबारे बाली प्रहरीलाई जानकारी नगराएको होइन्। उनीहरुले प्रहरी र अध्यागमन विभागसमक्ष ती विदेशीलाई 'डिपोर्ट' गर्नुपर्ने माग गरिरहेका हुन्छन्। तर अध्यागमन विभागका प्रमुख ब्यारन इचसान भने सबै घटनाको अनुसन्धान भइरहेको बताउँछन्।

'कुनै पनि प्रष्ट कारण बिना हामी उनीहरुलाई डिपोर्ट गर्न सक्दैनौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell