काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने प्रचण्डले बताए।
आइतवार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा राष्ट्रिय सहकारी विकास बोर्डको बैठकमा उनले वित्तिय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। 'कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्,' प्रचण्डले भने।
प्रचण्डले नीतिगत रुपमै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए। भने, 'केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।'