PahiloPost

Mar 20, 2023 | ६ चैत्र २०७९

क्रिकेटर आरिफ र आसिफलाई वीरगंज महानगरको सम्मान : एक एक थान यमाहा बाइक उपहार प्रदान गरिने



राधेश्याम पटेल

क्रिकेटर आरिफ र आसिफलाई वीरगंज महानगरको सम्मान : एक एक थान यमाहा बाइक उपहार प्रदान गरिने

वीरगंज : आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका दुई खेलाडीलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ। अगामी अगस्टमा जिम्बावेमा हुने वन डे विश्वकपको क्वालिफायर प्रतियोगितामा सहभागी पक्का गरेका उनीहरुलाई वीरगंजमा भव्य स्वागतसहित सम्मान गरिएको हो।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख (ब्याट्स म्यान तथा विकेट किपर)लाई वीरगंज महानागरको परिसरमा आइतवार वीरगंजका मेयर राजेशमान सिंहले दोसल्ला ओढाई सम्मान गरेका हुन्। मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोसल्ला ओढाएर सम्मान गरे। त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमिका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगंज महानगरले चैत १७ गते वीरगंजमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गर्ने जनायो।

उक्त समारोहमै यसअघि वीरगंज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमाहा एफ जेड एफ आइ मोटरसाइकल प्रदान गर्ने उनले बताए। मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगंजका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगंजवासीसँग आह्वान पनि गरे। उनले दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुर्‍याएर वीरगंज महानगरको नाम पनि उँचो बनाएको बताए।

सम्मानपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफूहरुलाई थप हौसला मिलेको प्रतिक्रिया दिए। आरिफ र आसिफका बुबा शेख सलामले आफना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुर्‍यायाउदाँ आफू पनि गौरवान्वित भएको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell