बुटवलः नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचनमा जनमत पार्टी निकट विद्यार्थी संगठन ‘विद्यार्थी जनमत संघ’ को प्यानल नै विजयी भएको छ।
विद्यार्थी जनमत संघका अध्यक्ष पदका उम्मेदवार बृजनन्दन कुर्मीले प्रतिद्धन्द्धी संयुक्त प्यानलका कृष्ण पटेललाई २८ मतान्तरले हराउँदै विजयी भएका हुन्। सचिव पदका उम्मेदवार प्रेमसागर यादवले प्रतिद्धन्द्धी नेविसंघका शिवप्रसाद हजारमलाई ४९ मतान्तरले पराजित गरे। कोषाध्यक्ष पदका उम्मेदवार सितु कुमारी पटेलले प्रतिद्धन्द्धीलाई ३३ मतान्तरले पराजित गरे। उनका प्रतिस्पर्धी संयुक्त प्यानलका प्रविनप्रसाद हरिजन र नेविसंघका प्रतिमा यादवले ९७-९७ मत पाए। त्यसैगरी ५ सदस्यीय सदस्य पदका लागि भएको निर्वाचनमा शिवसागर गिरी, जवाहिर गुप्ता, सदानन्द कुमार नाउँ, अमित कुमार सहानी र सामलाल लोनिया निर्वाचित भए।
समानुपातिकतर्फ पनि सोही विद्यार्थी संगठनको मत बढी आएको छ। ७ सदस्यीय समानुपातिकतर्फको निर्वाचनमा विद्यार्थी जनमत संघले १४७ मत, नेविसंघले १०२ र अनेरास्ववियुले ७९ मत पाएका छन्। कूल ३८५ मतदाता रहेको निर्वाचनमा ३२९ मत खसेको थियो। चुनावमा जनमत विद्यार्थी संघ र नेविसंघ एकल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। अनेरास्ववियु, जसपा निकट जनता विद्यार्थी फोरम, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी र राप्रपाले संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका थिए।