स्पेनिस ला लिगमा गएराति सम्पन्न एल क्लासिकोमा लिग लिडर बार्सिलोनाले जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले मड्रिडमाथि २-१ गोलअन्तरको जित निकालेको हो।
पहिलो हाफमा बार्सिलोनाले खेलमा राम्रो पकड बनाएर पटक पटक आक्रमण गरे पनि मड्रिडका गोल किपर थिबाउट कोउर्टओसले केही उत्कृष्ट बचाउ गरेका थिए। खेलमा अग्रता भने मड्रिडले लिएको थियो। खेलको ९ औँ मिनेटमा मड्रिडका भिनिसियस जुनियरको क्रस बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजुको टाउकोमा लाग्दै आत्मघाती गोल भएको थियो। जसबाट मड्रिडले खेलमा अग्रता बनाएको थियो। तर, खेलको ४५ औँ मिनेटमा सर्जी रोबेर्टोले गोल गर्दै खेल बराबरीमा ल्याए।
बार्सिलोनाको जितका लागि निर्णायक दोस्रो गोल भने इन्ज्युरी समयमा भएको थियो। अलेजान्द्रो बल्डेको पासमा फ्रान्क केस्सेइले बार्सिलोनका लागि निर्णायक गोल गरेका थिए। र, बार्सिलोनाले राइभल मड्रिडमाथि २-१ गोलअन्तरको जित निकाल्न सफल भयो।
जितसँगै बार्सिलोनाले अंकतालिकामा ११ अंकको अग्रता बनाउन सफल भएको छ। २६ खेलबाट ६८ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ५६ अंक जोडेको छ।