PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

देवदह र ज्ञानोदयमा अनेरास्ववियु, यज्ञोदयमा नेविसंघको प्यानल विजयी : रेसुंगामा चलेन गठबन्धन



पहिलोपोस्ट

देवदह र ज्ञानोदयमा अनेरास्ववियु, यज्ञोदयमा नेविसंघको प्यानल विजयी : रेसुंगामा चलेन गठबन्धन

बुटवल : गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुंगा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्।

घिमिरेले ३९५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत पाएको निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले जानकारी दिए।

त्यस्तै, सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन्। त्यस्तै खुल्ला ५ सदस्यहरुमा पनि नेविसंघकै अनिष पन्थी, अनुप सुनार, एलिसा पाण्डे, किरण थापा र कमल कुँवर निर्वाचित भएका छन्।

आइतबार सम्पन्न निर्वाचनमा क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए। यहाँ अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बिच तालमेल भएको थियो। नेविसंघ भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको थियो।

यसअघि २०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले यहाँ सभापतिसहित अन्य पद जितेको थियो। तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो।

देवदह क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

यहाँ स्ववियु सभापतिका लागि ३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अनेरास्ववियुबाट अर्जुन गैरे, नेपाल विद्यार्थी संघबाट माधव भट्टराईले उम्मेदवारी दिएका थिए। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिका लागि धनी कुमारी पन्थीलाई उठाएको थियो। तरऽ दुवै उम्मेदवारलाई पछि पार्दै अनेरास्ववियुका गैरेले बाजी मारेका हुन्।

अनेरास्ववियुका गैरेले २९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पधी नेविसंघका भट्टराईले १६७ र अखिल क्रान्तिकारीकी पन्थीले ५५ मत पाइन्।

त्यस्तै, कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराब ज्ञवाली, सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी भएका छन्।

रुपन्देहीको यज्ञोदय क्याम्पसमा नेविसंघको प्यानल विजयी

रुपन्देहीको शुद्धोधनमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भने नेपाल विद्यार्थी संघबाट महेश चौधरीको नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ।

चौधरीले ४०३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्यानलका समुद्र बगालेले १८१ मत ल्याएको निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले जानकारी दिए।

सचिवमा नेविसंघका आदेश रानाले ३९० मत ल्याएर विजय भए भने संयुक्त प्यानलबाट अखिल ढकालले १८७ मत पाए। कोषाध्यक्षमा रामनाथ यादवले ३५५ मत ल्याएर निर्वाचित हुँदा सुमन थापाले २१७ मत पाए।

खुल्ला सदस्यहरुमा राजन खनाल, हरिप्रसाद खनाल, निशादेवी थारु, आनन्द तिवारी र सागर सारु निर्वाचित भएका छन्। यहाँ अनेरास्ववियु, अनेरास्ववियु (क्रन्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी युनियन बिच तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो। क्याम्पसमा ६८५ जना विद्यार्थी रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा ५९१ जनाले मतदानमा भाग लिएका थिए।

ज्ञानोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

यस्तै, बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। सभापतिमा विनय यादवले १०१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाए।

त्यस्तै, सचिवमा अनेरास्ववियुका प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा विनिता पुनमगर विजयी भएका छन्। सदस्यमा पनि अनेरास्ववियुका सपना थापा क्षेत्री, मोहम्मद उसमान खान र निरुता थापा विजयी भएका छन्। समानुपातिकतर्फ अनेरास्ववियुले १०७, नेविसंघले ५७ र अनेरास्ववियु क्रान्तिकारीले ५४ मत पाएका छन्। २२९ जना मतदाता रहेको क्याम्पसमा आइतबार सम्पन्न निर्वाचनमा २२२ जनाले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell