PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

नापतौल विभागको अनुगमन : ७ हजार ९४४ जना व्यापारी कारवाहीमा



पहिलोपोस्ट

नापतौल विभागको अनुगमन : ७ हजार ९४४ जना व्यापारी कारवाहीमा

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने ७ हजार ९४४ जना व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारबाही गरेको हो।

पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए।

उनले भने, 'अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ।'

सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ। सीमित स्रोत र साधनबिच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि १२५ पटक एकल अनुगमन र ११६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए। 

चालु आर्थिक वर्षको आठ महिनामा सो कार्यालयबाट पाँच हजार ८६९ जना व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन्। यस्तै, ४१५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताए।

'नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौं', उनले भने।

सो कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक करोड ३५ लाख ६३ हजार ६७९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell