नेपाली क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतका पछिल्ला १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान बनायो। अझ लिग २ का पछिल्ला चार खेलहरु नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा सम्पन्न भए। विश्वकप छनोट खेल्नका लागि चारवटै खेलमा जित्नुपर्ने दवाव नेपालमाथि थियो।
नेपाल सहभागी सबै प्रतिस्पर्धामा मैदान परिसर भरियो। अझ बिहीवारको यूएईविरुद्धको खेल खास थियो। जिते सोझै विश्वकप छनोट, नजिते प्लेअफ। समीकरण सोझो तर रोमाञ्चक। अर्का हिसाबले भन्दा फाइनल सरह। बिहान ८ बजेदेखि नै स्टेडियम भरिएको देखिन्थ्यो। त्रिवि गेटबाटै मानिस भित्रिने क्रम हेर्दा दशैंमा असन-इन्द्रचोकको भिड बिर्साउने थियो। सवारी साधन अगाडि लैजान हम्मेहम्मे।
खेल हुने समय थियो साढे ९ बजे। त्यतिन्जेल त समर्थकहरुको संख्या झन् बढ्दै गयो। टिकट अघिल्लो दिननै 'सोल्ड आउट' भइसकेको नेपाल क्रिकेट (संघ) क्यानले सामाजिक संजालबाट जनाइसकेको थियो। अर्कातर्फ नेपालको खेल हेर्न काठमाडौं उपत्यका भन्दा बाहिरबाट पनि समर्थकहरु गाडी रिजर्भ गरेरै आएका थिए।
त्यतिबेलासम्म त्रिवि परिसर अस्तव्यस्त बन्यो। खेलप्रेमी सबै भित्र सजिलै प्रवेश गर्ने उपाय थिएन। बाहिर लफडा र भिड हुने त भइहाल्यो।
अनि 'सँधैं झै' एउटा दृश्य : मानिसहरु रुखमा चढेर भए पनि प्रतिस्पर्धा हेर्न जुटिहाले। मतलब मैदान वरपरका रुख पनि 'बुक' भए हाँगाले थेगेसम्म। कतिपय त पर्खाल नाघेरै भित्र छिरे भने होडिङ बोर्डका रुपमा राखिएका फ्लेक्स प्रिन्ट प्रहरीले नै च्यातेर खेल हेर्न सक्ने बनाइदियो।
+++
दिउँसो कतिबेला घाम चर्के जस्तो हुन्थ्यो त कतिबेला पानी झरिहाल्ला जस्तो। खेल एकदिवसीय 'फर्म्याट'मा थियो। बिहान साढे ९ बजे सुरु भएको खेल साँझ पौने ६ बजेसम्म नटुंगिएपछि 'भिजिविलिटी' कम भएको भन्दै अम्पायरले डीएसएल मेथडबाट नेपाली टीम विजयी भएको घोषित गरे। घोषणासँगै नेपाल विश्वकप छनोटमा पुग्यो।
नेपालले अहिलेसम्मकै ठूलो उपलब्धि हात पारिरहेको थियो। ऐतिहासिक रुपमा एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा पुग्नु आफैमा सानो उपलब्धी थिएन। नेपालको जित र हारले अरु मुलुकको भविष्य निर्धारित हुँदै पनि थियो। त्यसैले अन्तर्राष्ट्रिय स्तरमा चासो निक्कै थियो।
एक महिना अघिमात्रै खेलको लय जस्तो थियो त्यसले एकदिवसीय मान्यता नै जोगाउन त सक्छ? संशय थियो! त्यस्तो खराब फर्मबाट १२ मध्ये ११ खेलमा जित निकाल्नु सजिलो पक्कै थिएन। अझ विश्वकप छनोटमै पुग्नु त्यसभन्दा महत्वपूर्ण थियो। यी विषय चर्चाका लागि पर्याप्त थिए। एउटा खराब लयमा रहेको टिम एक्कासी कसरी बलियो लयमा फर्कियो? सफलताको राज के हो? यति धेरै समर्थकको साथ एसोसिएट राष्ट्रमा कसरी आयो? यति धेरै चर्चाको खेल भएर पनि आईसीसी किन १० टोलीमा खुम्चिएर बसेको छ? प्रतिस्पर्धी देशहरुले कुनै लिगको फ्रेन्चाइज टोली जस्तो विभिन्न देशमा जन्मिएका खेलाडी भेला गरेर चुनौती बढाइरहँदा आफ्नै योग्यताको बलमा कसरी नेपाल अघि बढिरहेको छ?
+++
"हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धूछौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ"
कवि भूपि शेरचनका यी शब्दहरु कालजयी छन्। सान्दर्भिक खेलकुदमा पनि। स्वभाविक रुपमा क्रिकेटमा पनि।
विश्वले नेपालको यसखाले 'कम ब्याक'मा चर्चाका लागि केलाउने विषयहरु बेग्रल्ती नै थिए। तर, चर्चामा के आयो?
रुखमा चढेका समर्थक।
नेपालले हातपारेको उपलब्धि र संघर्ष छाँयामा पर्नेगरी विदेशी सञ्चारमाध्यमले रुखमा फलेका मानिसहरुलाई 'कभर' गरे, 'क्रेजी सपोर्टर्स' भन्दै। र, 'वीर' नेपालीले गौरवका तिनै दृश्यलाई सोसल मिडियाबाट भाइरल बनाइरहे।
क्रिकेट हेर्न बाँदर झै रुखका हाँगामा बसेका नेपालीको दृश्य। यसले सन्देश के दियो? हो,नेपालमा 'प्यासोनेट' समर्थकहरु छन्। तर त्यतिमात्रै हो त?
रुखमा फलेका मानिसका दृश्यले क्रिकेट टोलीले हात पारेको उपलब्धिलाई नै छाँयामा पर्यो। नेपालबारे कमैमात्र बुझेका विदेशीका लागि अद्भुत र अनौठो दृश्य थियो रुखका मानिस।
आदिमानव जसरी रुख चढेर क्रिकेट हेर्नुपर्ने बहादुरी या पूर्वधारको निर्लज्ज तस्बिर? त्यही तस्बिर सेयर गर्दै विश्वव्यापी बनेकोमा गौरवान्वित पो!
पत्रकारितामा 'नेगेटिभिटी'ले सधैं राज गर्छ। खेलको जितको उल्लासभन्दा हाम्रो मानसिकता र हविगत देखाउने एउटा फरक 'पोट्रेट' क्यामराका 'फ्रेम'का कैद भइरहे।
साढे सात घण्टा भन्दा बढी समय रुखमा चढेर क्रिकेट हेर्न सक्ने क्षमता! रुखको हाँगा भाँचिएर कुनै दुर्घटना भएको भए? जिम्मेवारी कसको हुन्थ्यो? अनि अझ अन्तर्राष्ट्रिय मिडियामा नेपाललाई कसरी चिनाइन्थ्यो होला?
सामान्य प्रतिस्पर्धामा पनि सोच्नुपर्ने विषय हो यो। हामीले आफ्नो प्रतिष्ठालाई नाङ्गेझार पारिरहेका छैनौं त? क्षणिक रुपमा भाइरल भए पनि 'रुख चढेर क्रिकेट हेर्ने देश' भन्दा देशको आर्थिक, सामाजिक र संरचनागत हिसाबमा कस्तो परिदृश्य अन्तर्राष्ट्रिय मञ्चमा जाला?
देशमा एउटा देखाउन योग्य स्टेडियम नहुनु आफैँमा लज्जास्पद विषय हो। स्वयम् प्रधानमन्त्री उपस्थित कार्यक्रममा रुखमा मानिसहरु फलिरहेको दृश्य देखिँदा कतै पनि मन नदुख्नु अर्को अफसोसको विषय। यस्तो अन्तर्राष्ट्रिय बेइज्जतीले किन घच्घच्याइरहेको छैन?
दुई दशक पुग्न लाग्दा पनि मुलपानी स्टेडियम अझै बनिसक्दैन। चितवनमा अधकल्चो छ रंगशाला। मानिसहरु रुख चढेर पनि हेर्न तयार छन्। सरकार के मानिसलाई थप रुखमा फलाइरहन वृक्षारोपणतिरमात्र लाग्ने? अनि नाम होस् या बदनाम,नहोस् गुमनाम भन्दै यस्तैगरी लज्जाका विषयलाई पस्किरहने? रुखमा झुन्डिएर खेल हेर्ने स्थितिलाई संरक्षण गरेर एउटा नमुना मुलुक बन्ने? नत्र किन फरक हिसाबले नसोच्ने?
साह्रै गनगन गर्यो भन्ने लाग्यो होला। अहिलेलाई यतिमात्र भन्छु -रुखमा झुन्डिँदादेशको इज्जत गएको ठानेर अर्कोचोटि मानिस नफलुन् भनेर रुख नै काट्ने बुद्धि चाहिँ नआवस्।