PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कवाड तस्करीबाट करोडौं कमाइ, वीरगंज हुँदै के-के पुग्छ दिल्लीमा?



राधेश्याम पटेल

कवाड तस्करीबाट करोडौं कमाइ, वीरगंज हुँदै के-के पुग्छ दिल्लीमा?

वीरगंज : पर्साको सीमावर्ती क्षेत्रबाट विगत ५० वर्षदेखि हुँदै आएको कवाडको तस्करी दुई महिनायता बन्द थियो। रवि लमिछाने गृहमन्त्री हुनसाथ मधेश प्रदेशको डिआइजीमा वसन्त कुँवर तथा पर्साको एसपीमा कोमल शाह आए। लगत्तै पर्साको सीमावर्ती क्षेत्रमा प्रशासनले सुरक्षा निगरानी बढाएको थियो भने नेपाल-भारतको खुल्ला सिमानामा गरिने विभिन्न मालवस्तुको तस्करीमा नियन्त्रण गरिएको थियो।

रक्सौलबाट एक बोरा चामल ल्याउँदा पनि शंकचारचार्य गेटमा सर्वसधारणलाई प्रहरीले दु:ख दिएको आरोपसमेत लागेको थियो। तर अहिले अवस्था फेरिएको छ। डिआईजी कुँवर एआइजीमा बढुवा भएसँगै वीरगंजबाट कवाडको तस्करी पुन: सुरु भएको छ। तस्करीमा लोकप्रियता कमाएको वीरगंज-१६ ईनार्वा गाउँबाट तस्करी फेरि सुरु भएको स्थानीयले बताएका छन्।

भारत, रक्सौल नजिकै अहिरवा टोल जाने बाटो अर्थात् इनार्वाको पिपलबोट चौतारा नजिकै दिनमा कवाडको १० वटा ठेला खडा गरिने र रातिको समयमा भारत तस्करी हुने स्थानीयले जनाए। ती ठेला कवाडको विभिन्न सामाग्री ओसारपसार गर्ने तस्कर गिरोहका व्यक्तिहरु प्रति किलोको १० देखि १५ रुपैयाँसम्म ढुवानी खर्च लिएर रक्सौलको रामेश्वर फलमन्डीभित्र रहेको कवाड गोदामा पुर्‍याउँछन्। त्यसै अन्य ठेलाहरु इनार्वाका गाउँमासमेत दिनमा खडा गरि तयारी अवस्थामा राखिएको दृश्य जोकसैले पनि देख्न सक्छन्। रजत जयन्ती नजिककै इन्डोनेपाल अस्पतालभन्दा पूर्व इनार्वा गाउँ जाने बाटो वरपर पनि कवाडी व्यवसायीको गोदाम नजिकै तथा बाइपास सडक क्षेत्र, भुटनदेवी मन्दिर जाने बाटो वरपरलगायत क्षेत्रमा पनि तस्करी गरिने मालवस्तु तयारी अवस्थामा राखिएको स्थानीय बताउँछन्। दुई महिनादेखि प्रहरी प्रशासनसँग सेटिङ गर्दै आएको तर हाल आएर सेटिङ भएपछि तस्करीको काम सुरु भएको स्रोतले बतायो।

‘पहिले गृहमन्त्री र डिआईजी कडा स्वभावका थिए। प्रहरी प्रशासनले पनि कडाई गरेको थियो, तर अहिले केही मध्यम अवस्थमा कुरा मिलेको कारण काम सुरु भएको हो,’ स्रोतले भन्यो। जिल्लादेखि माथिल्लो निकायसम्म करिब मासिक लाखौं रुपैयाँ घुस रकम चढाएर तस्करी सुरु भएको तस्कर स्रोतको दावी छ।

तस्करीको काम नेपाल-भारतको वाणिज्य सन्धी अन्तर्गत गैरकानुनी रहेको जानकारहरु बताउँछन्। नेपाल-भारतको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय स्तरीय दुई देशको सम्झौता अनुसार आफ्नो देशबाट उत्सर्जित फोहोरमैला तथा कवाडी समानहरु आफनै देशमा 'रिसाइकल' वा तह लगाउनुपर्ने बाध्यात्मक शर्तसहितको सम्झौता भए तापनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारी यो अवैध धन्दा चलिरहेको बताइन्छ। कवाडको नाममा तस्करी गर्ने गिरोहले रातारात करोडौं कमाउने गरेको जानकारहरुको भनाई छ। वीरगंजको कवाडी समान भारतको रक्सौल हुँदै दिल्ली पुग्छ। त्यहाँ 'रिसाइकल' गरी कच्चा पदार्थ बनाइन्छ।

जस्तै पानीको बोतल दिल्ली पुगेपछि प्लाष्टिकको समान उत्पादन गर्न चाहिने कच्चा पदार्थ दाना बनाइन्छ। कौडीको भाउमा किनेका ती सामाग्री तस्करी गर्न नेपालभारतका करिब एक दर्जन तस्करहरु सक्रिय रहेका छन्। एक थान तीनपांग्रे ठेलामा ८ सय किलोदेखि १३ सय किलोसम्म कवाडी सामान जान्छ। यदि एक रातमा ८ सय किलो तौल लोड गरेको १० वटा ठेला रक्सौल पुगे किलोको १० रुपैयाँ तस्कर गिरोहले चार्ज गर्दा करिब ८० हजार कमाई हुन्छ। तर कवाडको पूर्ण तस्करी हुन थालेपछि दैनिक इनार्वा नाका र मुख्य भन्सार नाका भएरमात्रै दैनिक १५० देखि २ सयसम्म ठेला तस्करी गरी रक्सौल पुर्‍याउने गरिन्छ। दुई सय ठेलाको तस्करी गराए वापत प्रतिकिलो १० रुपैयाँको भाउले दैनिक १६ लाख तस्करको गोजीमा जाने भएकोले यो समानको तस्करीमा तस्कर गिरोहले विचौलियामार्फत प्रहरी प्रशासनलाई सेटिङ गर्न लाखौं रुपिया विभिन्न निकायलाई नजराना चढाउने गर्दछ।

के-के हुन्छ तस्करी?

कवाडको तस्करी भनेपछि प्रयोग भई कवाडी भइसकेको पैड बन्डल(मिनिरल वाटरको बोतलको बन्डल), रंगीन क्रिस्टल, स्टिल ३१६, स्टिल ३०४, स्टिल पिसी, स्टिल बर्तन, प्रिफम, प्रिफम ढेला, रेडबुलको केनको बन्डल, जनावरको हड्डी, जनावरको छाला, बैट्री, बैट्रीको धुलो, किट, एक्सरे, नयाँ सिमेन्टको बोरा, कापी, किताब, टायर, केबल, सिडी चक्का, नेचुरल पिपि(कटिङ गरिएको) ह्वाइट पिपि, हेडलाइट, रिलायन्स पाइप, ह्वाइट सिलिकन, ग्लुकोज स्लाइन बोटल, सि पाइप, किसान पाइप, ब्लास्टी रोल, कालो बारुद डस्ट, जार कटिङ, बाल्टिन कटिङ, कन्डुल, बिट, फ्लेक्स सेतो, फ्लेक्स कालो, कसकुट पिस्टन, एलडी प्लेट, जिंक, जिंक एस, औषधीको खोल(रेपर), नाइलन, कार बम्फड, सिरिन्ज, मेडिकल पन्जा, ह्वाइट एभिएसलगायत समानको कबाडको समान भनी तस्करी गर्ने गरेको हो।

के भन्छन् पर्साको नेपाल र सशस्त्र प्रहरी?

तस्करीको सवालमा सीमा सुरक्षाको जिम्मा लिएको १३ नम्बर सशस्त्र प्रहरी हेडक्वाटर पर्साले केही व्यक्तिले सीमा क्षेत्रमा कवाडी समान बोकेको ठेला खडा गरेको ठाउँ आफू पनि निरीक्षण गरेको तर तस्करी नभएको दावी गरेको छ।

‘मलाई पनि तस्करी सुरु भयो भने सूचना आउँदा म आफैं गएर हेरेको छु, तर तस्करी नै भएको हो भन्ने प्रमाण भेटिए उक्त क्षेत्रमा ड्यूटी खटिएका सुरक्षाकर्मीलाई कारवाही गर्छु,’ १३ नम्बर सशस्त्र प्रहरी बल हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले भने। उनले अहिले नै उक्त क्षेत्रमा तस्करीको लागि तयारी अवस्थामा राखिएको ठेला अन्त खडा गर्न निर्देशन दिएको जनाए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले यसबारे आफूलाई जानकारी नभएको र एसपीसँग छलफल गरी आवश्यक कारवाही चलाउने प्रतिक्रिया दिए। उनले कवाडको तस्करी बन्द नै रहेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell