बुटवल : लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। यो जितसँगै उसले २०४९ सालदेखिको आफ्नो विरासत कायम राखेको छ। यहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) भने तेस्रो स्थानमा खुम्चिएको छ।
अनेरास्ववियुका उम्मेदवार दुर्ग बहादुर एमसी ५७९ मतान्तरले विजयी भएका छन्। उनले १ हजार २१४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का शिव बहादुर खवासले ६३५ मत ल्याएका छन्।
त्यस्तै, नेविसंघका सागर पौडेलले ४७४ मत प्राप्त गरी तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र विद्यार्थी समुहका बरन्यम राज गौतमले १४५, अनेरास्वविय (क्रान्तिकारी) विप्लवका पदम पराजुलीले २७ र अखिल (क्रान्तिकारी) बहुमतका पारस राहादीले २५ मत ल्याए। यहाँ ६ वटा संगठनबिच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरि, सचिवमा अनेरास्ववियुका निलकन्ठ पाण्डेयले १ हजार २१५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका माधव खत्रीले ६०१ मत पाए। अखिल (क्रान्तिकारी)का विशाल पौडेलले ४३७, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समुहका राजन पाण्डेले १२०, अनेरास्वविय (क्रान्तिकारी) विप्लवका सुस्मीता बेल्बासेले ६८ र अखिल (क्रान्तिकारी) बहुमतका सुनिल नेपालीले २९ मत ल्याए।
कोषाध्यक्षमा अनेरास्ववियुका शशांक बस्यालले १ हजार २१० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघकी सम्झना पंगेनीले ५१८ मत पाइन्। अखिल (क्रान्तिकारी)की सपना फुल्लेलले ४९८, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समुहका सरोज खनालले १६२, अनेरास्वविय (क्रान्तिकारी) बिप्लवका सन्तोष पाण्डेले ५८ र अखिल (क्रान्तिकारी) बहुमतका प्रविन साहादीले ३४ मत ल्याए।
यस्तै, सदस्यमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी, विवेक कुँवर र प्रज्वल बस्नेत मतसहित फराकिलो मतान्तरले विजयी भएका छन्।
बुटवल बहुमुखीमा २०४९ सालदेखि नै एमाले निकट अनेरास्ववियुले वर्चस्व जमाउँदै आएको छ। २०४९ सालमा खिमलाल भट्टराईले विजय यात्रा सुरु गरेको बुटवल क्याम्पसमा २०५१ सालमा राजु गुरुङ, २०५३ सालमा तेजेन्द्र केसी, २०५५ सालमा यज्ञ गैरे, २०५७ सालमा रमेश न्यौपाने, २०६० सालमा रमेश राना र २०६३ सालमा बावुराम पन्थीले नेतृत्व गरेका थिए।
२०६५ सालमा भएको स्ववियु निर्वाचनको मतगणनाको अन्तिम समयमा माओवादी निकट अखिल (क्रान्तिकारी)ले मतपत्र च्यातेपछि निर्वाचन परिणाम घोषणा हुन सकेको थिएन।
कूल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा आइतबार भएको निर्वाचनमा २ हजार ६८१ जनाले मात्र मतदान गरेका थिए।