PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

प्रतिनिधिसभा बैठक सुरु, विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक सुरु, विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। बैठकबाट उनले विश्वासको मतको प्रस्ताव पेश गरेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन प्रचण्डलाई रहने विश्वास गरिएको छ। प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको मत आवश्यक पर्नेछ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell