PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो?



पहिलोपोस्ट

प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अस्थिरतातर्फ अघि बढाएको आरोप लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको छलफलमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वास गुमाएको बताएका हुन्। प्रधानमन्त्रीले स्थिरताको कुरा गरे पनि उनको क्रियाकलाप अस्थिरतातर्फ उन्मुख भएको पौडेलले बताए।

प्रतिनिधिसभा निर्वाचनको समयमा गठबन्धन बनेको र नतिजाका अनुसार आफूहरु दोस्रो ठूलो दल भएको भन्दै पौडेलले पहिला एमालेले गठबन्धनले सरकार बनाओस् भन्ने चाहेको बताए। तर, राष्ट्रपतिले दिएको समयमा गठबन्धनले सरकार बनाउन नसकेपछि प्रचण्ड एमाले कहाँ आएर सरकार गठनको प्रस्ताव गरेको बताए। प्रचण्डलाई शर्तसहित आफूहरुले समर्थन गरेको भन्दै पौडेलले प्रधानमन्त्रीलाई प्रश्न गरे।

'प्रधानमन्त्री बन्न एमालेको समर्थन लिने,प्रधानमन्त्री बनेपछि एमालेलाई शत्रुतापूर्ण व्यवहार गर्ने?' पौडलेले सोधे। 'तपाईंले के गर्नु भयो। त्यो सहयात्राबाट यो सहयात्रा किन? पुस १० मा किन हाम्रोमा आउनु भयो। इतिहासले यो प्रश्न सोधिरहनेछ।'

प्रचण्डले राष्ट्रिय सहमतिको प्रसंग उठाएको विषयमा पौडेले एमाले बिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए।

'राष्ट्रिय सहमति भन्ने हो भने भने देशको साझा चुनौति सामाना गर्न एक साथ उभिन जरुरी छ। सहमति र सहयात्राको विरोध गर्ने, घोक्राएर निकाल्ने अनि सहमतिको कुरा गर्ने?,' पौडललले भने, ' प्रधानमन्त्रीले खोजेको राष्ट्रिय सहमति कस्तो राष्ट्रिय सहमति हो? एमाले बिनाको राष्ट्रिय सहमतिको परिकल्पना हो भने एमाले त्यसको विरुद्धमा छ। एमालेलाई किनारा लगाउने र एक्ल्याउने ? समर्थन लिने र शत्रुता गर्ने? यो मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास हो।'

पौडलेले प्रचण्डले पुस २६ गते विश्वासको मत लिएको र आज फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै प्रश्न समेत गरे।

'संसदको बिजनेस नै सकिने भयो। अर्कोपटक विश्वासको मत कुन मितिमा लिने हो? महिनादिन नपुग्दै फेरि आउने त होइन?,' उनले प्रश्न गरे।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई किन समर्थन फिर्ता लिएको भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा पौडेलले प्रधानमन्त्रीले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति गरेको व्यवहार प्रमुख कारण रहेको खुलाए।

प्रधानमन्त्रीले जेनेभा जान लागेकी परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई विशेष दूत बनाएर पठाएका थिए। एमालेले सो कार्यले देशको इज्जत नै धरापमा पारेको जनाएको छ।

एमालेले सरकारको साथ छोड्नुको कारण दुनियाँलाई थाहा भएको र सबैभन्दा धेरै जानकारी प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै पौडेलले भने, 'आफैलाई थाहा भएको उत्तर सोधिरहनु पर्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell