काठमाडौं : तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगको सोमवार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतवारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँग यी क्षेत्रमा उपनिर्वाचन हुने भएको हो। चितवन २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन तोकिएको छ।
चितवन २ मा भने रवि लामिछानेको पद सर्वोच्चको आदेशपछि खारेज गएपछि आयोगले पहिला नै उपनिर्वाचनको मिति तोकेको थियो।
निर्वाचनका लागि चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ।
यस्तै, उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिएको छ। आयोगको मिति २०७९ फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दावी विरोधसमेत) कार्यक्रम, २०७९ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीकै आधारमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन गरिने आयोगले जनाएको छ।