PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्याज सम्झाउँदै ओलीलाई प्रचण्डले भने : तपाईंले मलाई अझै एकचोटि प्रधानमन्त्री बनाउनुपर्नेछ, खुलाए कांग्रेससँग 'लभ' पर्नुको कारण



पहिलोपोस्ट

ब्याज सम्झाउँदै ओलीलाई प्रचण्डले भने : तपाईंले मलाई अझै एकचोटि प्रधानमन्त्री बनाउनुपर्नेछ, खुलाए कांग्रेससँग 'लभ' पर्नुको कारण

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण झन्डै दुई तिहाईको सत्ता गुमेको बताएका छन्। सोमवार सदनमा विश्वासको मत माग्ने क्रममा शीर्ष सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले यसको समीक्षा हुनुपर्ने बताए।

यसमा जनताले भन्दा नेताकै कारण सत्ता गुमेको प्रचण्डको तर्क थियो। 'जनताले टिकाउन सकेको हैन। हामीले नै टिकाउन सकेनन्। झन्डै दुई तिहाई थियो। हामीले टिकाउन सकेनन् किन? यसको समीक्षा कहिल्यै हुन सकेन। हाम्रै सांसद विघटन गर्नुपर्ने ठाउँमा हाम्रै नेतृत्व किन पुग्यो? त्यसको समीक्षा गर्नुपर्दैन। तर्ककुतर्क गरेर इतिहास अघि बढ्दैन। हामीसँग भएका सातवटै प्रदेश सरकार किन गुमे?' प्रचण्डले प्रश्न गरे।

प्रचण्डले कांग्रेससँग सहकार्य गर्नु आफ्नो बाध्यता भएकोसमेत तर्क राखे। 'अरुलाई दोषारोपन गरेर आफू चाहि पानीमाथिको ओभानो बन्न नखोजौं। अझ अद्योगति हुन्छ। हाम्रो हिजो चारैतिर सरकार नै सरकार जताततै नियुक्ती नै नियुक्ती गुमाएर किन नेपाली कांग्रेससँग सहकार्य गर्न किनपर्‍यो? यसको औचित्य इतिहासमा पुष्टि गर्नुपर्छ,' प्रचण्डले भने, 'मैले भन्नुपर्छ मैले संघीयता, समानुपातिकताका निम्ति शान्तिप्रक्रियाका लागि बाध्यता आइपर्‍यो। इतिहासप्रति कसैले छेडखानी नगरौं। संविधानको रक्षा गर्न सक्ने शक्ति को हुन सक्छ हामीले खोज्यौ। त्यसपछि मैले यो निर्णय गरेको हुँ। यसमा हामीलाई पश्चताप छैन।'

प्रचण्डले एमाले नेता विष्णु पौडेललाई आफैतिर फर्केर हेर्नसमेत सुझाव दिए। 'साथीहरुले आत्मसमीक्षा गर्न जरुरी छ। मञ्चमा आएर कालोलाई सेतो, सेतोलाई कालो बनाउने कोशिश गरेर काम छैन। आफैलाई फर्केर हेर्नु। अर्थमन्त्री हुनुहुन्थ्यो तपाईलाई सोध्नुस्। तपाईंलाई नि थाह छ। तपाईंलाई नै हेर्नुस्,' उनले भने।

प्रचण्डले एमालेकहाँ आफूलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भनेर नगएको दाबीसमेत पेश गरे। 'खोज्दै प्रधानमन्त्री बनाउनुपर्‍यो भनेर भन्नु भयो,' प्रचण्डले भने, 'एमालेका अध्यक्षले मलाई तपाईंहरुले पहिल्यैबाट बल गर्दैहुनुहुन्थ्यो आइदिए हुन्थ्यो भनेर। म यतै बल गर्दै थिए यतै नेचुरल थियो भनेर तपाईंहरुले बोलाउँदै आउनुभयो। अनेक गरेर। तपाईंहरुले कांग्रेसलाई के भन्नुभयो अरुलाई के भन्नुभयो अहिले नै म भन्दिनँ।'

प्रचण्डले आफूलाई ओलीले अझै एकपटक प्रधानमन्त्री बनाउनुपर्ने गुण तिर्न बाँकी रहेको भनाईसमेत राखे। 'मलाई प्रधानमन्त्री बनाएकोमा केपी ओलीलाई आभार व्यक्त गरेको छु। मैले दुईचोटि बनाएको थियो। तपाईंले मलाई ऋण तिर्नुपर्ने थियो। ब्याज तिर्नुपर्ने थियो। ब्याज त आउँछ होला,' प्रचण्डले भने, 'अझ एकपटक बाँकी छ। हिसाब राख्नुहोला।'

आफ्नो लागि शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रचण्डले कांग्रेससँग यही एजेन्डाका कारण लभ परेको तर्क गरे। 'मलाई प्रधानमन्त्री दिन्छ भन्ने मलाई थाह लागेको थियो। म त सोझो सोझो छु,' प्रचण्डले भने, 'लभ परेको चाहि प्रधानमन्त्रीको लागि हैन। एजेन्डाको लागि हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell