PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विश्वासमै झल्किएको अविश्वास, वैशाखमै देखाउनुपर्ला त प्रचण्डले तेस्रो पटक बहुमत?



प्रकाश भण्डारी

विश्वासमै झल्किएको अविश्वास, वैशाखमै देखाउनुपर्ला त प्रचण्डले तेस्रो पटक बहुमत?

काठमाडौं: मध्य पुसमा सत्ताको भर्‍याङ चढ्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ थियो -१६८ सांसदको। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धलाई न्यानो बनाइरहन गरेका पटक-पटकका ‘छत’ र ‘सुन्तला’ वार्ता सफल भएनन्।

पुस १० देखि फागुन १२ सम्ममात्रै टिक्यो प्रचण्ड- ओली सम्बन्ध। फागुन १३ को राष्ट्रपति उम्मेदवारी मनोनयनका सम्बन्धमै दरार आयो, पुस १० को ७ दलीय गठबन्धन पनि टुट्यो। एमालेसँगको गठबन्धन टुटेसँगै अल्पमा परेका थिए प्रचण्ड, त्यसैले सोमबार प्रतिनिधि सभाको बैठकमा दोस्रो पटक विश्वासको मत लिए प्रचण्डले।

प्रचण्डको पक्षमा १७२ मत रह्यो भने विपक्षमा ८९ मत थियो। एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेकले प्रचण्डलाई मतदान गरे। पहिलो पटक पुस २६ मा विश्वासको मत लिँदा प्रचण्डले २६८ को विश्वास पाएका थिए।

सांसदभित्र देखिएको कित्ताकाट

सोमबारको संसद् बैठकमा राजनीतिक दलहरू प्रस्ट दुई धारमा देखिएका छन्। सांसदकै दोस्रो ठूलो दल एमाले र पाँचौँ ठूलो दल राप्रपा एउटा कित्तामा उभिँदा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अर्को कित्तामा उभिएका छन्। सत्ता गठबन्धन भर्सेस् एमाले- राप्रपाको स्थिति देखिएको छ विश्वासको मतमा। ७ दलीय गठबन्धनका बेलामा एमालेको पक्षमा देखिएको रास्वपा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रचण्डको कित्तामा उभिएको छ। प्रचण्ड सरकारबाट सबैभन्दा पहिला रास्वपा नै फिर्ता भएको थियो।

तर पछिल्लो समय ओलीसँग भन्दा प्रचण्डसँगै हिमचिम बढाइरहेका छन् रास्वपाका सभापति रवि लामिछानेले। महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि राहदानीबारे अनुसन्धान नगर्ने गरेको निर्णय सत्ताका लागि सौदाबाजी भएको चर्चा राजनीतिक वृत्तमा छ। राप्रपा भने अझै एमालेसँग सहकार्य गर्ने पक्षमा छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबारको संसद् बैठकमा प्रचण्डले धोका दिएपछि नैतिकताका आधारमा विपक्षी दल बनेको बताए। ‘हामीले त हाइड्रोजन गाडी दिएका थियौँ उहाँ नै गाडी छाडेर हिँड्नुभयो। नैतिकता भन्ने चिज हुन्छ भनेर छाडेर हिडेउँ,’ लिङ्देनको भनाइ थियो।

एमालेको चर्को आलोचना

संसद्मा बोलेका अधिकांश गठबन्धनका नेताहरूले एमालेको चर्को आलोचना गरेका थिए। एमालेलाई अस्थिरता निम्ताउन खोजेको, संसद् विघटन ठिक भनेर गल्ती गरेको र राष्ट्रिय सहमति नचाहेको जस्ता आरोप सत्ता गठबन्धनका नेताले लगाए। एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० मा ओली निवास बालकोट आउनु र एमालेसँगको गठबन्धन टुटाउनको कारण माग गरेका थिए प्रचण्डसँग। ‘तपाईँले किन त्यो सहयात्राबाट यो सहयात्रा गर्नुभयो? पुस १० मा किन हाम्रोमा आउनु भयो। इतिहासले यो प्रश्न सोधिरहनेछ,’ पौडेलले भनेका थिए।

जवाफमा प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिन हारगुहार गरेर ओली निवास नपुगेको भन्दै पौडेलको आलोचना गरे। बरु एमालेले नै आफूलाई प्रधानमन्त्रीका लागि बल गरेको प्रचण्डको भनाइ थियो। ‘एमालेका अध्यक्षले मलाई तपाईँहरूले पहिल्यैबाट बल गर्दैहुनुहुन्थ्यो आइदिए हुन्थ्यो भनेर। म यतै बल गर्दै थिए यतै नेचुरल थियो भनेर,’ प्रचण्डको भनाइ छ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि एमालेप्रति आक्रोश व्यक्त गरे। ओलीले संसद् विघटन गर्नु ठिक थियो भनेर पुस १० मा भनेकैले गठबन्धन टुटेको उनले बताए। नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्न खोज्दा एमालेले नमानेकोले एमाले एक्लिएको उनको भनाइ थियो। ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ नेपाली कांग्रेस पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईँहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?,’ पौडेलले भनेका थिए।

प्रचण्डले खुलाएका रहस्य

प्रचण्डले सोमबारको बैठकमा ओलीप्रति आक्रोश मात्रै व्यक्त गरेनन् उनले ओलीले आफूलाई वैशाखसम्म फेरि विश्वासको मत दिनुपर्ने भन्दै अस्थिरता देखाएको आरोप लगाए। ओलीले अब कांग्रेसले अरू दलसँग मिलेर सरकार बनाउने तथा माओवादी र एमाले प्रतिपक्षमा बस्नुपर्ने दिन आउने पटक-पटक भनेको दाबी प्रचण्डले गरेका छन्।

‘उहाँले मलाई पटक-पटक तपाईँ वैशाखभन्दा उता जानुहुन्न। वैशाखमा सभामुखको बायाँपट्टि लबीमा तपाईँ र म एकै ठाउँमा हुन्छौँ भन्नुभएको छ,’ प्रचण्डको भनाइ थियो। प्रचण्डले आफूले ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको भए पनि ओलीले एक पटक मात्रै बनाएकाले अझै एक पटक बाँकी रहेको भन्दै एमालेसँग फेरि पनि सहकार्य हुने संकेत गरे।

‘मलाई प्रधानमन्त्री बनाएकोमा केपी ओलीलाई आभार व्यक्त गरेको छु। मैले दुईचोटि बनाएको थिएँ। तपाईँले मलाई ऋण तिर्नुपर्ने थियो। ब्याज तिर्नुपर्ने थियो। ब्याज त आउँछ होला,' प्रचण्डले भने। प्रचण्डले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति पालना हुन नसक्ने संकेत पनि विश्वासकै मतका बेलामा गरेका छन्। उनले पटक पटक प्रधानमन्त्रीका लागि मात्रै गठबन्धन नबनेको भन्दै उक्त संकेत गरेका हुन्।

ओली बोलेनन्, अरू नेताले के के भने?

जनमत पार्टीका अध्यक्ष सिके राउतको विचार भने अरू नेताको भन्दा भिन्न थियो। उनले अरू कारणले नभई सिद्धान्त नमिल्दा एमाले- माओवादी गठबन्धन फुटेको बताएका थिए। प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने दिन आए दुःखद् हुने बताए।

'म खुसी छु भनेर भन्न सक्दिनँ। दुई महिनाको समयमा नै फेरि यो दिन आयो। यसले अस्थिरता तिर लैजान्छ। यस्तो परिस्थिति फेरि फेरि नआओस्,' राउतले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने एमाले -माओवादी गठबन्धन नटिक्ने भन्दै आफूले उक्त गठबन्धन बनेकै बेलामा गरेको टिप्पणी बैठकमा स्मरण गराएका थिए। अहिलेको गठबन्धन भने पाँच वर्ष नै टिक्ने उनको दाबी थियो। एमालेप्रति कटाक्ष गर्दै नेपालले भने, ‘एमालेलाई घोक्राएर किन निकालयो भन्ने कुरा पनि सुनियो। आफैं निस्केको भन्ने पनि सुनियो। विश्वविद्यालयलाई खोज अनुसन्धान गर्न पो दिनुपर्छ कि।’

जसपाका नेता प्रदीप यादवले नेपाली कांग्रेस गठबन्धनमा फर्किएपछि एमाले बाहिरिनुपरेको भन्दै एमाले रेलको एसी सिटबाटै हट्नुपरेको तर्क गरे। उनले प्रचण्डलाई साहसिक नेताको संज्ञा समेत दिए।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले आफ्ना पार्टीका सभापति रवि लामिछानेलाई लखेटिएको आरोप लगाएका थिए। यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संकटका बेलामा पनि साथ दिएको भन्दै धन्यवाद दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell