PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कम वरीयताका टोली बोलाएर थ्री नेशन्स कप जित्ने दाउमा एन्फा, प्रशिक्षक र एन्फाबिच मिलेको छैन समन्वय?



मुकुन्द घिमिरे

कम वरीयताका टोली बोलाएर थ्री नेशन्स कप जित्ने दाउमा एन्फा, प्रशिक्षक र एन्फाबिच मिलेको छैन समन्वय?

काठमाडौं : बुधवारबाट काठमाडौंमा ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ फुटबल सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित नेपालभन्दा कम वरीयताका भुटान र लाओसको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागिता जनाउन भुटान र लाओस दुवै टोली नेपाल आइसकेका छन्। फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा रहँदा भुटान १८५ र लाओस १८७ औँ स्थानमा छ। वरीयताका हिसाबले कमजोर आँकेर टोली बोलाइएको देखिन्छ।

नेपालले किन दुवै प्रतिस्पर्धी कम वरीयताका बोलायो भन्ने प्रश्नमा एन्फाका प्रवक्ता शुरेस शाहले पत्रकार सम्मेलनमा शीर्ष वरीयताका टोलीसँग खेल्न पत्राचार गरेर प्रयास गरेपनि नमिलेको प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाएका थिए।

‘सबै देशको आफूभन्दा ठूलो टोलीसँग खेल्ने प्रयास हुन्छ। सबै टोली आ-आफ्नो तरिकाले ब्यस्त भएकाले उपलब्ध टोलीसँग खेल्न लागिएको हो’, फागुन २९ गतेको पत्रकार सम्मेलनमा शाहले भनेका थिए, ‘फिलिपिन्स, मलेसियालगायतका टोलीसँग पनि पत्राचार भएको थियो।’

सोमवार एन्फाले तयारी पूरा भएको भन्दै अर्को पत्रकार सम्मेलन गर्‍यो। एन्फाका वरीष्ठ उपाध्यक्षले विश्व वरीयता हेरेर टिमको स्तर अनुमान गर्न नसकिने तर्क गर्दै आफ्नो बचाउ गरे।

थ्री नेशन्स कप खेल्न सोमवार नेपाल आइपुगेको भुटानी फुटबल टोली। फोटो : एन्फा


प्रतियोगिताका लागि ५ सय र १ हजार रुपैयाँ टिकट शुल्क एन्फाले तोकेको छ। फुटबलको लिगमा दर्शक रंगशालासम्म नआइरहेको अवस्थामा यो शुल्क बढी भएको तर्क पनि जायज छ। तर, लिग निर्देशक सञ्जीव मिश्रले दुई दशक अघि नै १ हजार रुपैयाँको टिकट बिक्री भएको जिकिर गर्दै अहिलेको परिप्रेक्षमा त्यो महँगो नभएको दाबी गरे।

यो प्रतियोगितामा नेपाल पहिलो पटक नवनियुक्त प्रशिक्षक अल्बर्टो एनेसको प्रशिक्षणमा नेपाल मैदानमा उत्रनेछ। फागुन १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्ने छन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।

एक दिनपछि खेल, छैन खेलाडी घोषणा गरेको

बुधवारबाट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन्। तर, एन्फाले हालसम्म खेलाडी घोषणा गरेको छैन। यद्यपि, ‘ए’ डिभिजन लिगका क्लबहरुले सामाजिक सञ्जालमार्फत को-को खेलाडी आफ्नो टोलीबाट राष्ट्रिय टोलीमा गए भन्ने सार्वजनिक गरिसकेका छन्।

प्रतियोगितामा सहभागी हुन भुटान र लाओसको टिम सोमवार नेपाल आइसकेका छन्। यता घरेलु टोली नेपालले भने हालसम्म टिम घोषणा गरेको छैन आधिकारिक रुपमा। टिम घोषणा गर्न प्रशिक्षकलाई भनेको भए पनि हालसम्म नगरेको एन्फा नेतृत्व बताउँछन्।

लाओसको फुटबल टोलीलाई सोमवार विमानस्थलमा स्वागत गर्दै एन्फा पदाधिकारी। फोटो : एन्फा


‘कोचलाई एन्फाले अनाउन्स गर्न भनेको हो। तर, लिगको स्क्वाड म्याच कोअर्डिनेसन् भोलि डिक्लेयर गर्नुहुनेछ। कोचले प्रिलिमिनरी स्क्वाड अनाउन्स गर्नुपर्थ्यो,’ लिग डाइरेक्टर सञ्जीव मिश्रले भने।

यसअघि, नेपालले विस २०७७ सालको चैत महिनामा पनि बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टोलीसँग थ्री नेशन्स कप खेलेको थियो। जसमा बंगलादेशलाई हराउँदै च्याम्पियन बन्न सफल भएको थियो।

प्रशिक्षकको छैन श्रम सम्झौता, एन्फासँगको सम्बन्ध कस्तो?

विदेशी प्रशिक्षकलाई नियुक्त गरेपछि उनले यहाँ काम गर्न श्रम सम्झौता गरेको हुनुपर्छ। तर, प्रशिक्षक एनेसको हालसम्म श्रम सम्झौता नभएको एन्फा नेतृत्व स्वीकार्छ।

एन्फाका वरीष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको र त्यहाँबाट अघि बढ्नुस् भन्ने सिग्नल आएको बताए।

‘हामी यसमा रातदिन काम गरिरहेका छौँ। एउटा मात्रै स्टेज छ। हामी सिरियस छौँ कुरामा। एन्फाले अपोइन्टमेन्ट दिइसकेको छ। आशा गरौँ मंगलवारसम्म हुनेछ,’ वरीष्ठ उपाध्यक्ष खड्काले भने।

यसअघिका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फा नेतृत्वबिच देखिएको बेमेल फेरि दोहोरिने हो कि भन्ने शंका गर्ने ठाउँ भने यसबाट मिल्नेछ।

एन्फाका वरीष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले नै प्रशिक्षणका बारेमा निर्देशन पालन नभएको स्वीकार्दै यसलाई सुधारेर लैजाने बताए।

‘कोच एन्फाको क्षेत्राधिकार भित्र पर्छ। एन्फाको नियम मान्नु पर्छ। नेपाली फुटबलमा यस्तो घटना दोहोरिँदैन,’ वरीष्ठ उपाध्यक्ष खड्काले भने।

कति छ पुरस्कार राशी?

थ्री नेशन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीलाई ५०० डलर गरी पुरस्कारमा ९५०० सय डलर खर्च हुने एन्फाले जनाएको छ।

यसको खर्च राष्ट्रिय खेलकुद परिषद्ले उठाउने छ। त्यस्तै, फिफाबाट आउने रकमबाट २५ सय डलर पनि प्रतियोगितामा खर्च हुनेछ। प्रतियोगिताका लागि १ करोड ७७ लाख ६८ हजार चार सय ८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ।

प्रतियोगिताका लागि एमडीएसी मिडिया प्राइभेट लिमिटेडसँग मार्केटिङ तथा ब्रोडकास्टिङ सम्झौता गरेको एन्फाले जनाएको छ। टिकट शुल्क साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell