PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पश्चिमा देशहरुलाई उक्साउने गरी क्रेमलिनमा पुटिन र सीबिच ‘प्रिय मित्र’को झल्को दिने अभिवादन



पहिलोपोस्ट

पश्चिमा देशहरुलाई उक्साउने गरी क्रेमलिनमा पुटिन र सीबिच ‘प्रिय मित्र’को झल्को दिने अभिवादन
Photo: Russian Presidential Press Service/Handout via REUTERS

रसिया-युक्रेन युद्ध जारी रहँदा सोमवार चिनियाँ राष्ट्रपति सी चिनफिङ मस्को पुगेका छन्। सीको स्वागतमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा रात्रिभोजको आयोजना समेत गरेको रोयटर्सले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय अदालतले युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा पुटिनलाई गिरफ्तार गर्न आह्वान गरेको केही दिनपछि सी मस्को पुगेका हुन्। युक्रेनको पूर्वी शहर बखमुतमा युद्ध उत्कर्षमा रहेका बेला सी मस्को भ्रमणमा निस्किएका हुन्।

यता, अमेरिकाले भने सीको भ्रमणको निन्दा गरेको छ। बेइजिङले मस्कोलाई थप युद्ध अपराध गर्नको लागि ‘कूटनीतिक आवरण’ दिएको संकेत गरेको वाशिङ्गटनले बताएको छ।

गत महिना तेस्रोपटक राष्ट्रपति बनेपछि यो सीको पहिलो विदेश भ्रमण हो। रसिया-युक्रेन युद्धमा शान्तिका लागि पहलकदमी लिने प्रयास गर्नु सीको नीति रहेको बताइएको छ। यो भ्रमणबाट अमेरिका र युरोपलाई चीन रसियाको साथमा रहेको सन्देश दिनु पनि सीको उद्देश्यहरुको जनाइएको छ।

क्रेमलिनको भेटमा पुटिन र सीले एकअर्कालाई ‘प्रिय मित्र’को रूपमा अभिवादन गरेका थिए। उनीहरूबिच केही घण्टा अनौपचारिक वार्ता भएको रसियाका सरकारी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। मंगलवार थप आधिकारिक वार्ताहरू हुने बताइएको छ।

टेलिभिजनमा प्रसारित भेटपछिको संबोधनमा पुटिनले सीलाई युक्रेन विवादको समाधानका लागि चीनले राखेको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका थिए। पुटिनले चीनको ‘अर्थतन्त्रको विकास र राज्यलाई बलियो बनाउने निकै प्रभावकारी प्रणाली’को आफूले ‘थोरै ईर्ष्या’ गरेको समेत बताए।

सीले पुटिनको प्रशंसा गर्दै रसियालीहरूले अर्को वर्ष उनलाई पुन: निर्वाचित गर्ने बताए। भने, ‘तपाईको बलियो नेतृत्वमा रसियाले आफ्नो समृद्ध विकासमा ठूलो फड्को मारेको छ।’

चीनले रसिया-युक्रेन युद्धबिच शान्तिको आह्वान गर्दै आएको छ। बेइजिङले युद्ध अन्त्यका लागि कुटनीतिक सहयोग उपलब्ध गराउने पनि बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell