काठमाडौँ: प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताको एकदिन अघि मात्र टोलीको घोषणा गरेका हुन्।
बुधवारबाट सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित छन्। प्रतियोगितामा सहभागी हुन दुबै टोली नेपाल आइसकेका छन्। मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पत्रकार सम्मेलनमा यी दुबै टोलीका प्रशिक्षकले मैदानमा जितको लक्ष्य भएको बताए।
यो प्रतियोगितामा नेपाल पहिलो पटक नवनियुक्त प्रशिक्षक अल्बर्टो एनेसको प्रशिक्षणमा नेपाल मैदानमा उत्रनेछ। फागुन १७ गते बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्ने छन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसले गर्ने ब्रोडकास्टिङको अधिकार पाएको एमडीएसी मिडियाले जनाएको छ।
नेपाली टोलीमा विशाल श्रेष्ठ, विमल घर्ती मगरलगायतका खेलाडी सम्मिलित छैनन् भने दीपकसिंह ठकुरी, सनिस श्रेष्ठ, सुमित श्रेष्ठलगायतका सातजना नयाँ अनुहारहरु समावेश छन्।
अन्तिम टोली
गोलकिपर्स: किरण कुमार चेम्जोङ, दीप कार्की, अभिषेक बराल
डिफेन्डर्स: सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का
मिडफिल्डर्स: पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा रोहित चन्द, कमल थापा, मणीकुमार लामा, भरत खवास
फर्वार्ड्स: आयुस घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन बिष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी