PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टुँडिखेलमा घोडाको अश्वकला, गुरुमापा राक्षसको कथा पनि मञ्चन

टुँडिखेलमा घोडाको अश्वकला, गुरुमापा राक्षसको कथा पनि मञ्चन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं र पाटनमा आज घोडेजात्रा पर्व मनाइएको छ। पाटनमा एकल घोडा दौडाएर र काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरेर घोडेजात्रा मनाइएको हो।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा घोडाहरुको अश्वकला प्रदर्शन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको कार्यक्रममा युद्धकलालगायतको प्रदर्शन पनि गरिएको थियो।

घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट अतिथि पनि सहभागी थिए।

आजको कार्यक्रमका गुरुपामा राक्षस सम्बन्धि कथा पनि प्रस्तुत गरिएको थियो। नृत्यमार्फत गुरुमापाको कथा पहिलोपटक टुँडिखेलमा प्रस्तुत गरिएको थियो।

स्थानीय जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।

साथै, शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। सेनाले आज यही कथामा आधारित नृत्यु प्रस्तुत गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell