PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

खेलाडी विदेसिँदा टिममा चुनौती थपिएको कप्तान किरणको स्वीकारोक्ति: समय अनुसार 'मुभ अन' हुनैपर्छ



पहिलोपोस्ट

खेलाडी विदेसिँदा टिममा चुनौती थपिएको कप्तान किरणको स्वीकारोक्ति: समय अनुसार 'मुभ अन' हुनैपर्छ

काठमाडौँ: राष्ट्रिय फुटबल टोलीमा रहेका महत्वपूर्ण खेलाडी विदेश पलायन भइरहँदा टोलीमा चुनौती थपिएको कप्तान किरण चेम्जोङले बताएका छन्। राष्ट्रिय टोलीमा रहेका र 'ए' डिभिजन लिग खेल्ने खेलाडी गरी करिब ४० जनाको हाराहारीमा खेलाडी नेपाली फुटबल छाडेर विदेसिएका छन्।

जसमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य विशाल राई, सुनिल बल, दिनेश राजवंशी, सुमन अर्याल लगायतका खेलाडी छन्।

लिग पाँचौँ चरण सकिएपछि इन्टरनेशनल विन्डोमा लाओस र भुटानसँग नेपालले घरेलु मैदानमा खेल्दैछ।

प्रधानमन्त्री कप थ्री नेशन्स कप प्रतियोगिताको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै चेम्जोङले छोटो भए पनि तयारी राम्रो भएको बताए।

'चुनौतीलाई स्वीकार गरेमात्र सफल हुन्छ। लिगको ब्रेक भएकाले मेन्टालिटी तयार गर्ने हो। हामीले एकअर्कालाई विश्वास गर्नुपर्छ। हामी एक ठाउँ हुन आवश्यक छ,' उनले भने, 'विदेश गइरहने क्रम बढेका खेलाडी बाहिर गएको छ। हामीले त्यो चुनौतीलाई स्वीकार्नै पर्छ। मुभ अन हुनैपर्छ।'

अधिकांश खेलाडी यू २३ का भएको भन्दै चुनौती धेरै भएको बताए।

'पहिलाको खेलाडीहरुसँग पनि मैल पिच साझा गरेको थिएँ। नयाँसँग पनि पनि गर्नेछु। हामीले चुनौती धेरै फेस गर्नुपर्नेछ,' उनले भने, 'टिम नयाँ छ। कोच नयाँ हुनुहुन्छ। कोचको स्ट्राटेजी फलो गर्नुपर्ने छ। दिन प्रतिदिन हामीले सुधार गर्नुपर्ने छ।'

भारतमा आइलिग च्याम्पियन बनेर फर्किएका किरणले नियमित रुपमा मैदानमा सँगै खेलिरहेका धेरै खेलाडी अस्ट्रेलिया पुगेका छन्। खेलाडी विदेशिने क्रमलाई अभिभावक संस्था अखिल नेपाल फुटबल संघ एन्फाले आलोचना ब्यहोर्दै आएको छ।

लिगका क्रममै पनि थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले राष्ट्रिय स्तरका महत्वपूर्ण खेलाडी बाहिरिँदा लिगकै स्तर खस्किएको टिप्पणी गर्दै आएका थिए।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भने व्यवसायिक लिगभन्दा बाहिर खेल्ने खेलाडीलाई फेरि राष्ट्रिय टोलीमा बोलाउने सम्भावना नहरने आफ्नो पहिलो पत्रकार सम्मेलनमा बताएका थिए।

'म उनीहरुको वास्तविक अवस्थाबारे जानकार छैन। प्रोफेसनल लिगभन्दा बाहिरको लिगमा खेल्ने हो भने खेलाडी छनोट गर्न कठिन हुन्छ,' उनी भन्छन्, 'खेलाडी छनोट गर्न सबैभन्दा पहिला उनीहरुको खेल हेर्न महत्वपूर्ण हुन्छ। मैले उनीहरुको खेल हेर्न पाइन भने छनोट गर्न सक्दिनँ। सबैको सुझाव सुनेर म निर्णय गर्छु।'

प्रतिस्पर्धी कस्ता?

उसो त फिफा वरीयताका हिसाबले लाओस र भुटान दुबै टोली नेपालभन्दा पछाडिका टोली हुन्। तर, नेपाली टोलीका प्रशिक्षक एनिसले फिफा वरीयता हेरेर टिमको अन्दाज गर्न नसकिने तर्क राखे।

'वरीयता भनेको फुटबल नबुझ्ने भन्ने कुरा हो।' उनले अघिल्लो वर्षसम्म बेल्जियम वरीयताको शीर्ष स्थानमा रहेको उदाहरण दिँदै शीर्ष स्थानमा रहेको टोली त्योभन्दा धेरै पछिका वरीयताका टोलीसँग पराजित भएको तर्क दिए।

त्यस्तै कप्तान चेम्जोङले खेलअघि नतिजा अनुमान गर्न नसकिने भन्दै प्रतिस्पर्धी दुबै टोलीहरुले पछिल्ला वर्षमा धेरै प्रगति गरेको बताए।

'फुटबलमा म्याचअघि केही पनि अनुमान गर्न सकिँदैन। धेरैपछि लाओससँग खेल्न लागेका छौँ,' चेम्जोङ भन्छन्, 'यो ६/७ वर्षमा धेरै सुधार भएको छ लाओस। पछिल्लो खेलमा उनीहरुले म्यानमारजस्तो बलियो टोलीसँग बराबरी खेलेका थिए।'

त्यस्तै भुटानसँग केही उत्कृष्ट खेलाडी रहेको चेम्जोङले संकेत गरे।

'भुटानलाई दुई पटक फेस गरेको छु। उनीहरुसँग केही क्वालिटी खेलाडी छन्,' चेम्जोङले भने, 'यो फिल्डमा हुने कुराहो जित हार। कोचको रणनीति पछ्याउनु पर्नेछ।'

बुधबारबाट सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक एनेसले मंगलबारमात्र २३ सदस्यीय टोली घोषणा गरेका थिए। प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्नेछन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।

नेपाली टोलीमा विशाल श्रेष्ठ, विमल घर्ती मगरलगायतका खेलाडी सम्मिलित छैनन् भने दीपकसिंह ठकुरी, सनिस श्रेष्ठ, सुमित श्रेष्ठलगायतका सातजना नयाँ अनुहारहरु समावेश छन्।

अन्तिम टोली

गोलकिपर : किरण कुमार चेम्जोङ, दीप कार्की, अभिषेक बराल

डिफेन्डर्स: सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का

मिडफिल्डर्स: पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा, भरत खवास

फर्वार्ड्स: आयुस घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन बिष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell