ललितपुर : आम जनतामाझ विज्ञान सम्बन्धी सञ्चारमा सञ्चार माध्यमको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न भएको छ। मंगलवार नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहअन्तर्गत नेपालस्थित युनेस्को, द स्मल अर्थ र नेपाल फोरम अफ साइन्स जर्नालिस्ट(एनएफएसजे)ले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीले नेपालमा विद्यामान विज्ञान पत्रकारिताबारे प्रकाश पारे। नेपालमा विज्ञान पत्रकारितालाई सञ्चार गृहले छुट्टै बिटको रुपमा अझै ठाउँ नदिएको उल्लेख गर्दै कार्कीले यस विषयमा छलफल हुनुपर्ने बताए।
युनेस्कोकी प्राकृतिक विज्ञान अधिकृत सिजल पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अहिलेको अवस्थामा के भइरहेको छ, के हुनुपर्ने हो र के गर्ने हो? भन्दै छलफल अघि बढाएकी थिइन्। अन्तरक्रियामा काठमाडौं विश्वविद्यालयकी सहप्राध्यापक डा रमादेवी तचामो, इन्टरनेसनल वाटर मेनेजमेन्ट इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता डा सन्तोष नेपाल, स्मल अर्थका अध्यक्ष डा धिरज प्रधान, जल तथा उर्जा आयोगका उपसचिव डा जगदिश्वर कर्माचार्य र दि हिमालय टाइम्सका सम्पादनक राजन पोखरेल सहभागी थिए।
सहभागीमध्ये धेरैले मिडियामा विज्ञान पत्रकारिताको कमजोरी औंल्याउँदै आगामी दिनमा पत्रकारिता र विशेषज्ञहरुबीच ज्ञानको आदानप्रदान हुनुपर्ने धारणा राखे। काठमाडौं विश्वविद्यालयकी सहप्रध्यापक डा तचामोले मिडियामा विज्ञानसम्बन्धी समाचार आउँदा सामान्य गल्ती भइरहेको बताइन्। विज्ञान क्षेत्रमा पनि प्रस्ट्याउन सक्नेको कमी रहेको उल्लेख गर्दै उनले भनिन्, 'मिडियामा हामीले प्रस्ट्याउन खोजेको कुरा आउँदैन। हामीकहाँ पनि प्रस्टसँग भन्न सक्ने मान्छेको अभाव छ।'
स्मल अर्थका डा प्रधानले मिडियाले धेरैजसो विषयको ड्राफ्ट नै सेयर नगर्ने र गल्ती हुने गरेको धारणा राखिन्। विज्ञानका भाषा अंग्रेजीमा हुने हुँदा अनुवादमा गल्ती हुने र फाइनल अघि सम्बन्धित विज्ञलाई नदेखाउँदा गल्ती हुने उनको भनाई रह्यो। 'प्रुफको बेला ड्राफ्ट सेयर हुँदैन। जसले गर्दा प्रिन्ट भइसकेपछि मात्र मिस्टेक देखिन्छ,' उनले भने।
वरिष्ठ अनुसन्धानकर्ता डा नेपालले पत्रकारहरु जता खोला बग्यो उतै आफै बाग्ने खालको भएको धारणा राखे। उनले पत्रकारिता 'क्रस क्वेसन' गर्ने र फरक खालको विचार राखेर वैज्ञानिकहरुलाई झक्झक्याउने खालको हुनुपर्ने भनाई राखे। 'कतै अरु सिजनमा फूल्ने फूल अर्कै सिजनमा फूल्यो भने जलवायु परिपर्तन भनिदिन्छ। त्यही लेखिदिन्छ पत्रकारले पनि। यो हैन भनेर क्रस गरेको देखिँदैन। जता खोला बग्यो उतै बग्ने,' डा नेपालले भने।
चैत ३ बाट शुरु भएको मौसम सप्ताह ९ गतेसम्म चल्नेछ युनेस्कोले जनाएको छ।