PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

नयाँ वर्षमा 'रात्री बजार' लगाउने वीरगंज महानगरको तयारी, 'तन्दुरी चाय' पनि पाइने



पहिलोपोस्ट

नयाँ वर्षमा 'रात्री बजार' लगाउने वीरगंज महानगरको तयारी, 'तन्दुरी चाय' पनि पाइने
फाइल तस्विर

वीरगंज : वीरगंज महानगरपालिकाले वीरगंजमै पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ। वीरगंजवासीको माग अनुसार महानगरपालिका प्रमुख राजेशमान सिंहको निर्देशनमा ‘रात्री बजार’ लगाउन लागिएको हो।

नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा यही चैत ३० गते बेलुका देखि वैशाख २ गते मध्य रातिसम्म वीरगंजको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने सिंहले जानकारी दिए।

आर्थिक नगरी भनेर वीरगंजलाई चिनिने गरेको भए पनि वीरगंजको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो। यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको सिंहले बताए।

'व्यवसायीक रुपमा वीरगंजको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौं,' उनले भने, 'यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ।'

‘रात्री बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगंजमै पहिलोपटक 'तन्दुरी चाय'को सुरुवात गरिने पनि उनले जानकारी दिए। रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने उनले बताए।

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ। ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ), वीरगञ्ज साइकलिङ्ग क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थाहरुसँगको सहकार्यमा ‘रात्री बजार’ तयारीको काम अघि बढाइएको उनले बताए।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए। आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १०० स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell