PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सि र पुटिनको संयुक्त वक्तव्यमा युक्रेनदेखि अकस सम्झौताको कुरा, 'महान प्रजातन्त्र भन्ने कुनै चीज हुँदैन'



पहिलोपोस्ट

सि र पुटिनको संयुक्त वक्तव्यमा युक्रेनदेखि अकस सम्झौताको कुरा, 'महान प्रजातन्त्र भन्ने कुनै चीज हुँदैन'
Photo : Reuters

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले 'नयाँ युग'मा समन्वयलाई व्यापक बनाउन र रणनीतिक साझेदारीलाई गहिरो बनाउने घोषणा गरेका छन्। रसिया भ्रमणमा रहेका सि र पुटिनले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन्।

संयुक्त वक्तव्यमाफर्त दुवै राष्ट्रपतिले अहिले चीन र रसियाको सम्बन्ध शीतयुद्धको समयमा भएको सैन्य-राजनीतिक गठबन्धन जस्तो नभएको उल्लेख गरेका छन्। 'स्टेट टु स्टेट' सम्बन्धको 'मोडल'मा चीन र रसिया अहिले कुनै पनि गठबन्धन, टकराव र तेस्रो पक्षलाई लक्षित आक्रमणमा नरहेकोसमेत जनाइएको छ।

विभिन्न देशहरुको आफ्नै इतिहास, संस्कृति र राष्ट्रिय परिस्थितिहरु हुने भन्दै उनीहरुलाई आफ्नो विकासको पथ छान्ने अधिकार रहने वक्तव्यमा भनिएको छ। उनीहरुले महान 'प्रजातन्त्र' जस्तो कुनै चीज नहुने पनि बताएका छन्।

रसियाले वक्तव्यमा ‘एक चीन’ नीतिमा आफ्नो समर्थन रहेको र ताइवानलाई चीनको अभिन्न अंग रहेको स्वीकार्दै ताइवानको स्वतन्त्रताको नाममा भइरहेका क्रियालापकाविरुद्ध चीनले उठाउने कदममा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

वक्तव्यमा, व्यापारसँगै भूराजनीतिका अन्य विषयहरुलाई पनि समेटिएको छ। बेलायत, अस्ट्रेलिया र अमेरिकाको अकस  सम्झौताबारे पनि वक्तव्यमा समीक्षा गरिएको छ। उनीहरुले क्षेत्रीय शान्ति र सुरक्षाका बारेमा ध्यान दिन अकस राष्ट्रहरुलाई आग्रह गरेका छन्।

केही दिन अघि चीनले बढाइरहेको सैन्य क्षमतालाई चुनौती दिन यी तीन देश एकै ठाउँमा उभिएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषक सुनक र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले सहमती पत्रमा हस्ताक्षर गरेका थिए। सो सम्झौतापछि परमाणु पनडुब्बीसँग जोडिएका प्राविधिक पक्षलाई बेलायत र अमेरिकाले अस्ट्रेलियासँग साझा गर्न बाटो खुलेको थियो।

रसिया र चीनले जापानलाई फुकुसिमा न्यूकिल्यर प्लान्टबाट बाहिरिएको परमाणुसहितको पानीको व्यवस्थापन गर्न पनि आग्रह गरेको छ। उनीहरुले अमेरिकालाई 'बायोलोजिकल विपन्स कन्भेन्सन' को मर्म विपरित काम नगर्न पनि भनेको छ।

संयुक्त वक्तव्यमा रसिया र युक्रेन युद्धका बारेमा पनि उल्लेख छ। जसमा रसियाले युक्रेन संकट समाधानका लागि चीनले चाल्न खोजेको सकारात्मक राजनीतिक र कूटनीतिक प्रयासहरुको स्वागत गर्ने जनाइएको छ। युक्रेनी संकट समाधान गर्नका लागि देशशरुबिच 'ब्लक' बनाएर टकरावको वातावरण सिर्जना गर्न नहुने र द्वन्द्वलाई थप उत्तेजित बनाउने कार्यहरू रोक्नु पर्नेमा दुवै देश सहमत भएका छन्।

रसिया र युक्रेनबिचको युद्ध ३९० दिन पुग्दा सोमवार चिनियाँ राष्ट्रपति सि मस्को पुगेका थिए। युद्ध चलिरहँदा र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा सिको रसिया भ्रमण भएको हो।

संयुक्त वक्तव्य जारी गर्नुअघि सि र पुटिनबिच भएको भेटमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई शान्तिका लागि वार्ता गर्न आग्रह गरेका थिए। चीनले युक्रेन मामिलामा 'राजनीतिक समझौता' कायम गराउन रचनात्मक भूमिका निर्वाह गर्ने सिले बताएका थिए।

सिले युक्रेन संकटका बारेमा चीनको धारणा 'पोजिसन पेपर' मार्फत सार्वजनिक गर्दै त्यसको राजनीतिक समाधानको वकालत गरेको र शीतयुद्धको मानसिकता र एकपक्षीय प्रतिबन्धलाई अस्वीकार गरेको पनि पुटिनलाई जानकारी दिएका थिए।

रसियाका राष्ट्रपति पुटिनले भने चीनले यस विषयमा निष्पक्ष र सन्तुलित अडान कायम राखेको भन्दै प्रशंसा गरेका थिए। पुटिनले युक्रेन मुद्दाको राजनीतिक समाधानमा चीनको 'पोजिसन पेपर'लाई ध्यानपूर्वक अध्ययन गरेको र शान्तिका लागि वार्ता गर्न खुला रहेको जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell