दमक : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल-५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन्।
पूर्वतर्फ गइरहेको मे १ ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
जिपका चालक इलाम नगरपालिका-२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो।