PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सिको तेस्रो कार्यकालको पहिलो राजकीय भ्रमण मस्को : 'युक्रेन मामिला'को समाधान संवादबाट, १४ दस्तावेजमा हस्ताक्षर



विधुर ढकाल

सिको तेस्रो कार्यकालको पहिलो राजकीय भ्रमण मस्को : 'युक्रेन मामिला'को समाधान संवादबाट, १४ दस्तावेजमा हस्ताक्षर
Photo : FMPRC

सांघाई : चिनियाँ राष्ट्रपति सि चिनफिङले मस्को पुगेर युक्रेन मामिला शान्तिपूर्ण संवाद मार्फत समाधान गर्नुपर्ने बताएका छन्। रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा क्रेमलिन पुगेका उनको भ्रमणका क्रममा दुई देशबिच संयुक्त वक्तव्य जारी भएको छ।

मंगलवार स्थानीय समयअनुसार दिउँसो राष्ट्रपति सि र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको क्रेमलिनमा नयाँ युगका लागि समन्वयको व्यापक रणनीतिक साझेदारीलाई प्रगाढ बनाउने विषयमा जनवादी गणतन्त्र चीन र रुसी महासंघको संयुक्त वक्तव्य जारी गरेका छन्।

संयुक्त वक्तव्यमा युक्रेनको मामिलामा दुवै पक्षले संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तको पालना गर्नुपर्नेमा जोड दिइएको छ। साथै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने दुवै देशले धारणा राखेका छन्। रुसी पक्षले युक्रेन मामिलामा चीनको वस्तुनिष्ठ र निष्पक्ष अडानलाई सकारात्मक रूपमा लिएको वक्तव्यमा उल्लेख छ।

'कुनै पनि देश वा देशको समूहले सैन्य, राजनीतिक र अन्य क्षेत्रमा फाइदा लिने र अन्य देशको वैध सुरक्षा हितलाई हानि पुर्‍याउने अभ्यासको दुवै पक्षले विरोध गरेका छन्,' संयुक्त वक्तव्यमा भनिएको छ, 'रुसी पक्षले जतिसक्दो चाँडो शान्ति वार्ता पुनः सुरु गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ, जसको चीनले सराहना गरेको छ।'

रुसी पक्षले युक्रेन संकटको राजनीतिक र कूटनीतिक समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न चीनको तत्परताको स्वागत गरेको छ।

'युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडानमा उल्लिखित रचनात्मक प्रस्तावहरूको स्वागत गर्दछ। दुवै पक्षले युक्रेन संकट समाधान गर्न सबै देशको वैध सुरक्षा चासोको सम्मान गर्नुपर्ने, गुटको मुठभेड रोक्नुपर्ने र आगोको ज्वाला लाई रोक्नुपर्ने बताएका छन्,' वक्तव्यमा भनिएको छ, 'दुवै पक्षले उचित समाधानका लागि जिम्मेवार संवाद नै उत्तम उपाय हो भन्नेकुरामा जोड दिएका छन्। यसका लागि अन्तर्राष्ट्रिय समुदायले सान्दर्भिक रचनात्मक प्रयासलाई सहयोग पुर्‍याउनुपर्छ। दुवै पक्षले तनाव निम्त्याउने सबै कदमहरू रोक्न र संकटलाई अझ खराब हुन वा नियन्त्रणबाहिर जानबाट रोक्न का लागि लडाईंको विस्तारलाई रोक्न आह्वान गरेका छन्।'

दुई नेताबिच भएको वार्ताका क्रममा दुवै पक्षले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले अनाधिकृत रूपमा कुनै पनि एकतर्फी प्रतिबन्धको विरोध गरेका छन्।

मस्को पुगेका सिलाई क्रेमलिनमा घोडसवारले स्वागत गरेका थिए। क्रेमलिनमा दुई नेताबिच छुट्टाछुट्टै र द्विपक्षीय वार्ता मंगलवार नै भएको थियो। वार्ताका क्रममा राष्ट्रपति सिले चीन र रुस एकअर्काको सबैभन्दा ठूलो छिमेकी भएको र रुससँग दीर्घकालीन असल छिमेकीको सम्बन्धलाई सुदृढ र विकास गर्नु ऐतिहासिक तर्क पेस गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भएपछि सिले १० वर्षअघि रुसको पहिलो राजकीय भ्रमण गरेका थिए। राष्ट्रपति सिले एक शताब्दीमा नदेखिएका परिवर्तनहरू तीव्र गतिमा विकसित भइरहेको र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा गहन परिवर्तन भइरहेको बताएका छन्।

'संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य तथा विश्वका प्रमुख मुलुकका हैसियतले चीन र रुसको अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पूरा गर्ने दिशामा विश्वव्यापी शासन सञ्चालन र प्रवर्द्धन गर्न र मानवजातिका लागि साझा भविष्यसहितको समुदाय निर्माणलाई प्रवर्द्धन गर्न संयुक्त प्रयास गर्नु स्वाभाविक जिम्मेवारी हो,' सिको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, 'दुवै पक्षले एकअर्काको मूल हितसँग सम्बन्धित विषयमा एकअर्कालाई सहयोग गर्नुपर्छ र बाह्य शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्छ।'

वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिट इनिसिएटिभ, ग्लोबल डेभलभ्मेन्ट इनिसिएटिव र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको समर्थन गर्दै समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।

वार्तापछि दुवै नेताले सन् २०३० अघि चीन-रुस आर्थिक सहयोगका मुख्या दिशाका लागि विकास योजनासम्बन्धी संयुक्त समझदारीपत्रमासमेत हस्ताक्षर गरेका छन्। सो क्रममा सिले रुसी राष्ट्रपति पुटिनलाई यसै वर्ष चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सहभागी हुन निम्तो दिएका छन्। 

मस्को पुगेर सिले चीन युक्रेन संकटको समाधान उक्साहटबाट नहुने भन्दै संवादमा जोड दिएका छन्। गत महिना चीनले 'युक्रेन संकटको राजनीतिक समाधानमा चीनको स्थिति' शीर्षकको दस्तावेज जारी गरेको थियो।

'युक्रेन संकटमा चीनले संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तको पालना गर्दै आएको छ, वस्तुगत र निष्पक्ष अडान लिएको छ र शान्ति वार्तालाई सक्रिय रूपमा प्रोत्साहित गरेको छ। चीनले यस मामिलाको गुणदोषका आधारमा आफ्नो अडान राखेको छ र शान्ति र संवादका लागि र इतिहासको दाहिने पक्षमा दृढतापूर्वक उभिएको छ,' उनको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

तेस्रो कार्यकालका लागि चीनको सर्वोच्च संसद पिपल्स कंग्रेसबाट पुन: राष्ट्रपतिमा निर्वाचित भएपछि पनि सिले पहिलो राजकीय भ्रमणको रुपमा मस्कोलाई नै रोजेका हुन्। उनको यो भ्रमण चार वर्षयताको पहिलो राजकीय भ्रमण पनि हो। अमेरिकाले चीन माथि युक्रेन मामिलामा रुसलाई सहयोग गरिरहेको आरोप लगाइरहेका बेला सि क्रेमलिन पुग्नुलाई अर्थपूर्ण लिइएको छ। साथै रुसले यसलाई स्वागत गरेको छ।

'यो रुसी–चिनियाँ साझेदारीको विशेष प्रकृतिको स्पष्ट प्रमाण हो, जुन पारस्परिक सम्मान र एकअर्काको हितको मान्यतामा आधारित छ,' पुटिनले भने, 'रुस र चीनबीच छिमेकी, सहयोग र मित्रताको बलियो सम्बन्ध छ।'

यो भ्रमणका क्रममा मस्को र बेइजिङ "नियमित रूपमा संयुक्त समुद्री र हवाई गस्ती र संयुक्त अभ्यास सञ्चालन गर्न, सबै उपलब्ध द्विपक्षीय संयन्त्रहरू प्रयोग गरी सैन्य आदानप्रदान र सहयोग विकास गर्न र आफ्ना सशस्त्र बलहरूबीच पारस्परिक विश्वास बढाउन" सहमत भएका छन्।

'रुससँग सम्बन्ध विस्तार गर्नु चीनले आफ्नो आधारभूत स्वार्थ र विश्वको प्रचलित प्रवृत्तिका आधारमा गरेको रणनीतिक छनौट हो,' वार्तापछि सिको टिप्पणीले यसलाई पुष्टि गरेको छ।

यो भ्रमणका क्रममा दुई देशबिच मंगलवार साँझ विभिन्न १४ व्वक्तव्य, प्रोटोकल तथा सम्झौताहरुमा हस्ताक्षर भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell