PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अघिल्लो वर्ष ४५ जना खेलाडी प्रतिबन्धमा परेको नेपालसँग खेल्ने लाओसको टोली कस्तो?



मुकुन्द घिमिरे

अघिल्लो वर्ष ४५ जना खेलाडी प्रतिबन्धमा परेको नेपालसँग खेल्ने लाओसको टोली कस्तो?

काठमाडौं : दक्षिणपूर्वी एसियाली राष्ट्र लाओससँग नेपाली फुटबल टोलीले आज प्रतिस्पर्धा गर्दैछ। काठमाडौंमा आजबाट सुरु हुन गइरहेको प्रधानमन्त्री कप थ्री नेशन्स कप प्रतियोगितामा आज साँझ यी दुई टोली आमनेसामने हुँदैछन्।

नेपाली फुटबल टोलीको परिचित प्रतिद्वन्दी होइन लाओस्। यसअघि सन् २०१६ मा एकपटक यी दुई टोली भिडेका थिए। जसमा नेपालले जित निकाल्न सफल भएको थियो। २-२ को बराबरीमा रोकिएर पेनाल्टीमा नेपालले जित निकाल्दा एएफसी सोलिडारिटी कपको त्यो सेमिफाइन खेलका नायक थिए हालका नेपाली टोलीका कप्तान किरण चेम्जोङ। उनले तीनवटा पेनाल्टी बचाउँदै नेपाललाई फाइनल पुर्‍याउन सफल भएका थिए।

त्यतिबेलाको खेलमा हालका लाओसका राष्ट्रिय टोलीका कप्तान सौकाफोने भोङछिएन्गखाम चोटका कारण टोलीमा थिएनन्। के लाओसको टोली त्यो हारको बदला लिन चाहन्छ? कप्तान सौकाफोने त्यसयता लाओसको फुटबल धेरै परिवर्तन भइसकेको बताउँछन्।

'यहाँ आउनपाउँदा खुशी छु। हामी उत्साहीत छौं। हामी हाम्रो फुटबल देखाउन चाहन्छौं,' उनले भने, 'सोलिडारिटी कपको सेमिफाइनलमा पराजय ब्यहोरेयता धेरै कुराहरु फेरिएका छन्। मैले इन्टरनेटमा नेपालको खेलहरु हेरेको छु।'

लाओसका जर्मन कोच मिचेल विस 'कुल' छन्। 'ग्रासरुट'बाटै फुटबलको अर्को पुस्ता स्वर्णीम बनाउन काम गरिरहेको लाओस फुटबलको प्रशिक्षकका रुपमा उनलाई जित्नपर्ने ठूलो दवाब पनि छैन।

लाओसका कोच मिचेल विस


'हाम्रो युवा टोली छ। भविष्यका लागि तयारी छ,' प्रशिक्षक लिसले भने, 'हाम्रो लिग चलिरहेकोले धेरै तयारी भएको छैन। हाम्रोमा यू २२ खेलाडी धेरै छ।'

फिफा वरीयतामा लाओस १८७ औं स्थानमा छ। तर, यसो भनिरहँदा लाओसलाई कम आँक्न भने मिल्दैन। पछिल्लो खेलमा लाओसले डिसेम्बर महिनामा मात्र म्यानमारको बलियो टोलीलाई २-२ गोलको बराबरीमा रोकिएको थियो। म्यानमार फिफा वरीयतामा १५९ औं स्थानमा छ। अर्थात, नेपाल भन्दा १६ स्थान अगाडि।

यहाँ नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले भनेको कुरा केही हदसम्म सान्दर्भिक हुन आउँछ। कम वरीयताको टोली ल्याएर प्रतियोगिता सजिलै जित्ने लक्ष्य हो भन्ने प्रश्नमा उनले भनेका थिए : वरीयता भनेको फुटबल नबुझ्नेले भन्ने कुरा हो। 

एनेसले अघिल्लो वर्षसम्म बेल्जियम वरीयताको शीर्ष स्थानमा रहेको उदाहरण दिँदै शीर्ष स्थानमा रहेको टोली त्योभन्दा धेरै पछिका वरीयताका टोलीसँग पराजित भएको तर्क दिएका थिए।

लाओसका प्रशिक्षकले भने मैदानमा राम्रो खेल देखाउने भन्दै जित/हार अलग पक्ष भएको बताए।

'हामी खेल देखाउँछौं। हामी नतिजा देखाउन चाहन्छौं। जित/हार अलग कुरा हो,' उनले अघिल्ला वर्षको फराकिला पराजयलाई संकेत गर्दै भने, 'भियतनाम र मलेसियामा हार फरक पक्ष थियो। त्यतिबेला हाम्रो यू २२ टीम थियो। २/३ वर्षपछि नतिजा देख्न थालिनेछ।'

उनले लाओसको टोलीले उमेर समूहमा राम्रो खेल प्रदर्शन गरिरहेको दलिल प्रस्तुत गर्दै तिनै खेलाडी सिनियर टोलीमा आइपुगेकाले नतिजा राम्रो आउने दाबी गरे।

'विपक्षी बलियो या कमजोर भन्दा पनि पिचमा देखाउनुपर्छ,' उनले प्रि म्याच कन्फरेसनमा भनेका थिए।

सन् २०२२ मा ठूलो संख्यामा लाओसका खेलाडीहरु म्याचफिक्सिङको आरोपमा निलम्बित भएका थिए। त्यसले गर्दा युवा खेलाडीमा केन्द्रीत लाओससँग सिनियर खेलाडी धेरै छैनन्। त्यसताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा फिक्सिङ गरेको भन्दै ४५ जना खेलाडी प्रतिबन्धमा परेका थिए। त्यसअघि २०१५, २०१६, २०१७ र २०२० मा पनि लाओसका खेलाडी फिक्सिङकै प्रकरणका कारण प्रतिबन्धमा परेका थिए।

त्यसबेला त्यतिधेरै खेलाडी कारवाहीमा परेको तर एकजना पनि अफिसियल कारवाहीमा नपरेको भन्दै आलोचना भएको थियो।

+++

नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि लाओसको पछिल्लो प्रदर्शनलाई नजिकबाट हेरेका छन्। पछिल्लो समय लाओसले कसरी सुधार गर्दै लगेको छ भन्ने पनि विश्लेषण गरेका छन्।

'फुटबलमा म्याचअघि केही पनि अनुमान गर्न सकिँदैन। धेरैपछि लाओससँग खेल्न लागेका छौं,' चेम्जोङ भन्छन्, 'यो ६/७ वर्षमा धेरै सुधार भएको छ लाओस। पछिल्लो खेलमा उनीहरुले म्यानमारजस्तो बलियो टोलीसँग बराबरी खेलेका थिए।'

अर्कोतर्फ नेपाली टोली अस्थिरताबाट गुज्रिरहँदा लाओसले बलियो चुनौती दिन सक्ने सम्भावना रहन्छ नै। खासगरि नेपाली टोलीमा नियमित स्थान बनाउँदै गरेका खेलाडीनै ठूलो संख्यामा पलायन भएको अवस्थामा आधा दर्जन बढी नयाँ खेलाडी राष्ट्रिय टोलीमा आइपुगिसकेको छ। यस्तो संक्रमणकालीन अवस्थामा प्रशिक्षक पनि नयाँ छन्। र, टोलीले उनीसँग लामो ट्रेनिङ पनि गर्न पाएको छैन।

'चुनौतीलाई स्वीकार गरेमात्र सफल हुन्छ। लिगको ब्रेक भएकाले मेन्टालिटी तयार गर्ने हो। हामीले एकअर्कालाई विश्वास गर्नुपर्छ। हामी एक ठाउँ हुन आवश्यक छ,' उनले भने, 'विदेश गइरहने क्रम बढेका खेलाडी बाहिर गएको छ। हामीले त्यो चुनौतीलाई स्वीकार्नै पर्छ। मुभ अन हुनैपर्छ।'

साँझ ६ बजे भिडन्त

नेपाल र लाओसबीचको खेल आज साँझ ६ बजे सुरु हुनेछ।

थ्री नेशन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीलाई ५०० डलर गरि पुरस्कारमा ९५०० सय डलर खर्च हुने एन्फाले जनाएको छ।

यसको खर्च राष्ट्रिय खेलकुद परिषद्ले उठाउने छ। त्यस्तै, फिफाबाट आउने रकमबाट २५ सय डलर पनि प्रतियोगितामा खर्च हुनेछ। प्रतियोगिताका लागि १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ।

प्रतियोगिताका लागि एमडीएसी मिडिया प्राइभेट लिमिटेडसँग मार्केटिङ तथा ब्रोडकास्टिङ सम्झौता गरेको एन्फाले जनाएको छ। टिकट शुल्क साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ। खेलको प्रत्यक्ष प्रसारण एनटिभी प्लसले गर्नेछ।

प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्ने छन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell