PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वाग्मतीमा सत्ता गठबन्धनभित्र खटपट : विश्वासको मत दिने दिन कांग्रेस सांसद काठमाडौंमा, बैठक सार्न मुख्यमन्त्रीलाई आग्रह



निशा गुरुङ

 वाग्मतीमा सत्ता गठबन्धनभित्र खटपट : विश्वासको मत दिने दिन कांग्रेस सांसद काठमाडौंमा, बैठक सार्न मुख्यमन्त्रीलाई आग्रह

हेटौंडा : वाग्मती प्रदेशसभाबाट आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यतालिका थियो। तर, बैठक अझै सुरु हुन सकेको छैन। विश्वासको मत लिने बैठक चैत १० गते सार्न नेपाली कांग्रेसले आग्रह गरेसँगै जम्कट्टेललाई सकस परेको हो।

प्रदेशसभा सचिवालयले बैठक आज ३ बजे बस्ने गरी बोलाएको थियो। तर, गठबन्धनको प्रमुख राजनीतिक दल कांग्रेसले आजै ११ बजे काठमाडौंमा संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मत लिने बैठक स्थगित गर्न आग्रह गरेको हो।

मंगलवार कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा, प्रदेश सांसद कुन्दनराज काफ्लेलगायत नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर विश्वासको मतको विषयमा छलफल गरेका थिए।

देउवाले प्रदेशमा आन्तरिक विषय छलफलबाट टुंग्याउन निर्देशन दिएको बुझिएको छ। कांग्रेस संसदीय दलका नेता लामाले संसदीय दलको बैठक बसेर केही दिन बैठक सार्न आग्रह गरेको बताए।

‘हामीले छलफल गरेर बैठक १० गतेलाई सार्न लगाएका छौं। १० गते नै विश्वासको मत दिन्छौं, आजै नभ्याइने भयो।’ उनले भने।

उनले मुख्यमन्त्रीसँग सरकार सम्बन्धमा सहमति नभएसम्म कुरा अगाडि नबढ्ने बताए। वाग्मती प्रदेशमा गठबन्धन नयाँ तरिकाबाट अगाडि बढ्ने पनि उनले बताए। कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलसँग सरकारको नेतृत्व गर्ने विषयमा र भागबण्डाका लागि सहमति खोजेको छ। तर, जम्कट्टेल भने सहमतिबाट भाग्न खोजेको कांग्रेस नेता बताउँछन्।

विश्वासको मत लिनुअघि गठबन्धनमा कुनै छलफल नै नगरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलसँग गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) असस्तुष्ट बनेका छन्।

मुख्यमन्त्री जम्कट्टेल यसअघिको एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले ८ चैतमा विश्वासको मत लिने बताइएको थियो। कुनै ठूलो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले जम्कट्टेलले १३ चैतभित्र विश्वासको मत लिनुपर्ने अन्तिम म्याद हो।

यसअघि, प्रदेश सभाका दुईतिहाइ भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। गत २५ पुसमा एमाले, राप्रपासहित ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका तीनजना सांसदबाहेक एक सय पाँचजना सांसदले विश्वासको मत दिएका थिए।

वाग्मती प्रदेशसभामा कूल ७ वटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ।

एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद् भए पुग्छ। नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी एक भएसँगै सरकार गठनमा बहुमत पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell