PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

दु:ख दिने र दु:ख पाउने दिन गए, अब वैदेशिक रोजगारमा जाने युवाको सम्मान हुन्छ : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

दु:ख दिने र दु:ख पाउने दिन गए, अब वैदेशिक रोजगारमा जाने युवाको सम्मान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई समाजिक सुरक्षा कोषका योजनाहरुमा आवद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'अब दु:ख दिने। दु:ख पाउने दिन गए। अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ। ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुकै हित र देश हितमा प्रयोग हुनेछ। यो सरकारको प्राथमिकता र प्रतिवद्धता यही हो,' उनले भने।

प्रचण्डले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तब्यहरुको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको बताए। साथै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरुलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाउन पनि सरकार लागेको उनले बताए।

प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरुप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको दाबी गरे। र, सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको पनि उनले सो कार्यक्रममा बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell