काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदैछ। फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुगासँग संवाद गरिरहेको देख्न सकिन्छ। जहाँ उनी सुगालाई भन्छिन् : तलाईं उड्न मन लाग्दैन हो?
सुरक्षाले चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ ताका सुगासँग नजिकिँदाका किस्सा एक कार्यक्रममा साझा गरेकी छिन्।
‘म सुगासँग दुई महिना वर्कसपमा बसेँ। हामी जनावर भन्ने बित्तिकै छि छि दुरदुर गर्छौं। सुगासँगको मेरो अनुभव केही फरक रह्यो। मैले सुगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन। उसमा अन्यौल थियो’ सुरक्षा भन्छिन्, ‘उसमा डर पनि हुँदो रहेछ। उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो। जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ।’
सुरुमा सुगा नजिक नभए पनि बिस्तारै निकै निकट भएको उनको अनुभव छ।
‘मसँग सुँगा सुरुमा मानेन। तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो। जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो। राती सुत्दा पनि सुगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो।’
साथै उनले आफू फिल्मको अर्को सुगा भएको दाबी गरिन। ‘म घरबाट निस्कन चाहन्छु। तर, समय बाध्यताले त्यो अवस्था हुन दिँदैन। म बहावको अर्को सुगा हुँ। फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ।’, उनले भनिन्।
फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख थिम बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ।