PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस सांसद नआएपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, जम्कट्टेलले लिन पाएनन् विश्वासको मत



पहिलोपोस्ट

कांग्रेस सांसद नआएपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, जम्कट्टेलले लिन पाएनन् विश्वासको मत

हेटौंडा : वाग्मती प्रदेश सभाको बैठक स्थगित भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

आगामी चैत १० गते बस्ने गरी आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

नेपाली कांग्रेसका सांसदहरु काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसकिने भएकोले प्रदेश सभा बैठक स्थगित गरिएको हो।

प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामार्फत विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री जम्कट्टेलले यसअघि पहिलोपटक गत माघ ३ गते विश्वासको मत लिएका थिए। त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदले समर्थन गरेका थिए। 

राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुरुप उनले विश्वासको मत लिन लागेका हुन्। तर कांग्रेसका कारण उनलाई अहिले सकस परेको छ।

मंगलवार कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा, प्रदेश सांसद कुन्दनराज काफ्लेलगायत नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर विश्वासको मतको विषयमा छलफल गरेका थिए।

लामाले मुख्यमन्त्रीसँग सरकार सम्बन्धमा सहमति नभएसम्म कुरा अगाडि नबढ्ने बताए। वाग्मती प्रदेशमा गठबन्धन नयाँ तरिकाबाट अगाडि बढ्ने पनि उनले बताए। कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलसँग सरकारको नेतृत्व गर्ने विषयमा र भागबण्डाका लागि सहमति खोजेको छ। तर जम्कट्टेल भने सहमतिबाट भाग्न खोजेको कांग्रेस नेता बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell