PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

गठबन्धनभित्रै उपगठबन्धन बनाउन तीन दल सक्रिय, किन गरिरहेका छन् प्रचण्डले नै मोर्चाबन्दी?



प्रकाश भण्डारी

गठबन्धनभित्रै उपगठबन्धन बनाउन तीन दल सक्रिय, किन गरिरहेका छन् प्रचण्डले नै मोर्चाबन्दी?

काठमाडौं: सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउन सत्तारुढ दल नै सक्रिय भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बीच मोर्चाबन्दी गर्न नेताहरू संवादमा जुटेका हुन्। बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल लगायतका नेतासँग जसपाका नेता राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी लगायतले छलफल गरेका हुन्।

समाजवादी मोर्चा बनाएर अघि बढ्न छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए।

‘पार्टी एकताभन्दा पनि अहिले मोर्चाबन्दीका लागि छलफल भएको छ। पार्टी एकताकै लागि पनि प्रयास त भएको हो। तर अहिले त्यो नभएर मोर्चामात्रै बन्छ,’ तुलाधरले भने।

तीन दल बाहेक अरू दलहरूसँग पनि कार्यगत एकता हुनसक्ने तुलाधरको भनाइ छ।

जसपाबाट वार्ता समितिको सदस्य समेत रहेका नेता गोविन्द चौधरीले यसबारेमा तीनै पार्टीले निर्णय गरिसकेकाले छलफल भइरहेको बताए।

‘यसबारेमा त निर्णय नै भइसकेको छ। छलफल भइरहेका छन्। कार्यगत रूपमा एक ठाउँमा रहने भनेर मोर्चा बनाइन लागेको हो,’ उनले भने।

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुअघि पनि समाजवादी मोर्चाका लागि कांग्रेस नेतृत्वमा रहेको गठबन्धनमा रहेका कांग्रेसबाहेक दलका नेता सक्रिय भएका थिए। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरेर गठबन्धनभित्रै उपगठबन्धन बनाउन शीर्ष नेताले छलफल गरे पनि मोर्चाबन्दी भने हुन सकेन। त्यतिबेला नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चाबन्दीका लागि पटक-पटक प्रचण्डसँग वार्ता गरे। भट्टराईले माओवादी केन्द्रसँग सहकार्यसमेत गरिरहेका छन्। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले प्रधानमन्त्रीको ध्यान मोर्चाबन्दीमा भन्दा पनि सरकारलाई पूर्णता दिनमै केन्द्रित भएको बताए।

‘पहिला त सरकार बनाउनैमा छ। मोर्चाबन्दीबारे त छलफल भइरहेकै छन् नि,’ उनले भने।

माओवादी र एकीकृत समाजवादीले पार्टी एकता गर्ने निर्णय समेत गरेका थिए पुस १० मा माओवादीले एमालेसँग सहकार्य गर्नुअघि। तर माओवादीले एमालेसँग सहकार्य गरेपछि उक्त गृहकार्य रोकिएको थियो। त्यतिबेला प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धनमा आफूलाई प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसमाथि दबाब दिन पार्टी एकताका लागि प्रस्ताव गरेका थिए। चुनावका बेला पनि गठबन्धनमा बार्गेनिङ गर्न समाजवादी मोर्चाका लागि गृहकार्य भएको नेताहरूले बताएका छन्।

युद्धकालीन मुद्दा अदालतमा पुगेपछि प्रचण्डले पूर्व माओवादीलाई एकै ठाउँमा उभ्याउने प्रयास गरेका थिए। तर सङ्क्रमणकालीन विषय टुग्यांउन विधेयक संसद्मा प्रस्तुत भएसँगै पूर्वमाओवादी मोर्चा निष्क्रिय भएको छ। अहिले फेरि कांग्रेससँग मन्त्रालय बाँडफाँटमा बार्गेनिङ बढाउन प्रचण्डले मोर्चा बनाउन गृहकार्य अघि बढाएका हुन्। गठबन्धनमा शक्ति बाँडफाँटका लागि लगातार छलफल हुँदै आएको छ। राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले र प्रधानमन्त्री माओवादीले पाएको अवस्थामा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटमा आफूलाई प्राथमिकतामा राखिनुपर्ने बताउँदै आएको छ। प्रचण्डले अहिले पनि सरकार बिस्तारसँगै मोर्चाबन्दिको छलफललाई पनि तीव्र बनाउन चाहेका हुन्। माओवादी केन्द्रका सचिव गणेश साहले केही दिन यता मोर्चाबन्दीका लागि नेताहरूका बीचमा छलफल भइरहेको बताए। ‘केही दिनदेखि भइरहेको छलफल हो। सरकार बिस्तारसँगसँगै मोर्चाबन्दीबारे पनि छलफल चलेको हो,’ उनले भने।

समाजवादी मोर्चाका लागि कम्युनिस्ट र समाजवादी पार्टीबीच छलफल भए पनि कम्युनिस्ट पार्टीमध्यकै ठूलो दल एमालेसँग भने तत्काल सहकार्य हुन नसक्ने निचोडमा माओवादी र एकीकृत समाजवादी छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनको मनोनयन अघि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेका थिए, पार्टी एकताको शर्तसहित। तर उक्त प्रस्ताव राष्ट्रपति बनाउनका लागि नभई जालझेलका लागि मात्रै भएको भन्दै एकीकृत समाजवादीले अस्वीकार गरेको थियो। एमालेसँगको सहकार्य टुटेसँगै प्रधानमन्त्री प्रचण्डले समेत एमाले अध्यक्ष ओलीप्रति संसद्मा चैत ६ गते आक्रोश व्यक्त गरेका थिए। नेपालले पनि एमालेप्रति कटाक्ष गर्दै एमाले सरकारबाट बाहिरिनुको कारणबारे अध्ययन गर्नुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell