PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उत्कृष्ट खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा सन्तुलन मिलाउन संघर्ष, अनन्त भन्छन् : यतिले पुग्दैन



मुकुन्द घिमिरे

उत्कृष्ट खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा सन्तुलन मिलाउन संघर्ष, अनन्त भन्छन् : यतिले पुग्दैन

काठमाडौं : ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई हरायो। २-० को जित निकाले पनि नेपाली टोलीको अघिल्ला खेलहरुमा झै देखिने समन्वय भने मिलाउन कठीन भइहरेको देखिन्थ्यो।

पहिलो रोजाइमै खेल्ने विशाल राई, तेज तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, सुनिल बललगायतका महत्वपूर्ण खेलाडी विदेश पलायन हुँदा टिमको सन्तुलन भने बिग्रिएको स्पस्ट देखियो। नेपाललाई जित दिलाउन पहिलो हाफमा अनन्त तामाङले र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरे।

जित निकाले पनि समन्वय मिलाउन भने कठिन भएको स्वीकार्छन् म्यानअफदी म्याच समेत भएका डिफेन्डर अनन्त तामाङ।

‘अभ्यासमा राम्रै भइरहेको थियो। त्यही मोमेन्टमा गोल भए। तर, खेल सन्तोषजनक थिएन’, तामाङ भन्छन्, ‘तयारी पनि समय थिएन। नयाँ खेलाडी धेरै हुँदा सोचेजति भएन। अलि पछाडि बसेर खेलेका थिएनन्। बल पोजेसन राख्न नसकेपनि जितका कारण राम्रै भयो।’

टोलीका नियमित खेलाडी बाहिरिँदा कठीन हुनसक्ने अनुमान प्रतियोगिता अघि नै कप्तान किरण चेम्जोङले पनि गरेका थिए। यस्तोमा प्रशिक्षकदेखि खेलाडीसम्म नयाँ कम्बिनेसन हुँदा कठीन हुने सम्भावना उनले बताएका थिए। जितका बावजुत समन्वयको अभाव खड्किरह्यो।

‘पहिलाको खेलाडीहरुसँग पनि मैले पिच सेयर गरेको थिएँ। नयाँसँग पनि पनि गर्नेछु। हामीले चुनौती धेरै फेस गर्नुपर्नेछ’, उनले भने, ‘टिम नयाँ छ। कोच नयाँ हुनुहुन्छ। कोचको स्ट्राटेजी फलो गर्नुपर्ने छ। दिन प्रतिदिन हामीले सुधार गर्नुपर्ने छ।’

नवनियुक्त प्रशिक्षक भिन्सेन्ज अल्बेर्टो एनेस पनि आफ्नो करियरका लागि राम्रो सुरुवात भएको बताउँछन्। यद्यपि, लिग चलिरहेको र लगत्तै प्रतियोगिता आउँदा उनले पनि खेलाडीसँग राम्रो घुलमिल हुने अवसर भने बनाउन सकेनन्।

‘राम्रा अवसरहरु गुमायौँ पनि। एकदिनको रेस्ट छ। रेस्ट सबैभन्दा महत्वपूर्ण छ। अर्को खेलको तयारी गर्नुछ’, एनेसले भने, ‘मेरो एसियामा पहिलो इन्टरनेशनल खेल हो। अपोनेन्टलाई एकपछि अर्को हेर्दै जानेछु।’

नेपाली टोलीका स्टार खेलाडी अञ्जन बिष्टले भने बुधवारको खेलमा मैदानमा प्रवेश पाएनन्। उनले प्रतियोगिता गुमाउने चर्चा भए पनि प्रतियोगिता अघिको प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक एनेसले उनी फिट भइसकेको बताएका थिए।

‘अञ्जन लगभग ठीक थियो। म अरु खेलाडीलाई पनि विश्वास गर्छु,’ खेलपछि भने कुरा फेर्दै प्रशिक्षक एनेसले भने।

भुटानसँग नेपालको अर्को खेल छ। भुटानको टोलीमा अझ सशक्त खेलाडी भएकाले अनन्त तामाङ टिममा अझै सुधार गर्न आवश्यक देख्छन्।

‘भुटानमा अझ क्वालिटी खेलाडी छन्। हाम्रो खेलमा कम्युनिकेसन कम भएको छ। यतिले पुग्दैन’, उनी भन्छन्, ‘हामीले अझै अट्याकिन थर्डमा काम गर्नुपर्छ। पोजिसनवाइज सुधार गर्न पर्छ।’

खेलअवधि भर नेपाल आक्रामक बन्न सकिरहेको थिएन। त्यसैले पनि डिफेन्समा रोहित चन्द, विकास खवास र अनन्त तामाङ ब्यस्त रहे। भलै, लाओसले राम्रो आक्रमण बुन्न नसक्दा कप्तान किरण चेम्जोङ ब्यस्त रहेनन्।

‘लाओससँगको खेलमा कम्बिनेसन मिलेको थिएन’, तामाङ भन्छन्, ‘अधिकांश खेलाडी जाँदा नयाँ खेलाडी आउनुभएको छ। भविष्यमा राम्रो होला।’

प्रतियोगितामा चैत ८ गते नेपाल र लाओस, ११ गते लाओस र भुटान, १४ गते नेपाल र भुटान भिड्नेछन् भने १७ गते फाइनल खेल खेलाउने एन्फाको तयारी छ। प्रतियोगिताका लागि एक करोड ७७ लाख बढी खर्च लाग्ने एन्फाको अनुमान छ।

थ्री नेशन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीलाई ५०० डलर गरी पुरस्कारमा ९५०० सय डलर खर्च हुने एन्फाले जनाएको छ।

यसको खर्च राष्ट्रिय खेलकुद परिषद्ले उठाउने छ। त्यस्तै, फिफाबाट आउने रकमबाट २५ सय डलर पनि प्रतियोगितामा खर्च हुनेछ। प्रतियोगिताका लागि १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ।

प्रतियोगिताका लागि एमडीएसी मिडिया प्राइभेट लिमिटेडसँग मार्केटिङ तथा ब्रोडकास्टिङ सम्झौता गरेको एन्फाले जनाएको छ। टिकट शुल्क साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell