
काठमाडौं : फागुनमा स्मार्टफोन आयात थप प्रभावित बनेको छ। माघको तुलनामा मूल्यका हिसाबले फागुनमा स्मार्टफोन आयात बढेपनि संख्यात्मक हिसाबमा थप कमजोर बनेको छ।
भन्सार विभागको तथ्यांक अनुसार फागुनमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ८९ हजार ७५४ थान स्मार्टफोन आयात भएको छ। जसबाट सरकारले ३४ करोड २१ लाख रुपैयाँ भन्सार संकलन गरेको छ।
माघमा भने १ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ लाख भन्दा बढी थान स्मार्टफोन भित्रिएको थियो। जसबाट सरकारले ३२ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो।
लामो समय स्मार्टफोन आयातमा प्रतिबन्ध लगाउँदा भारतीय बाटो हुँदै अवैध फोन छ्याप्छ्याप्ती काठमाडौंसहितका बजारमा भेटिएपछि अवैध आयातको फोनले व्यापारमा थप धक्का लाग्दै आएको छ। सरकारले अवैध आयातलाई नियन्त्रण गर्ने भन्दै सफ्ट लन्च गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण कार्यान्वयनमा नआउँदा ग्रे मार्केट थप मौलाउन पाएको आरोप व्यवसायीहरुको छ।
अन्तर्राष्ट्रिय बजारमा स्मार्टफोनका कम्पोनेन्टको मूल्यवृद्धि, डलरको भाउमा भइरहेको बढोत्तरीका कारण फोनको मूल्य बढ्न पुगेको छ। लामो समयदेखि तरलता संकटसँग जुधिरहेको नेपाली अर्थतन्त्र ब्याजदरमा भएको वृद्धिका कारण पनि मोबाइल व्यवसायमा थप ह्रास ल्याएको व्यवसायी बताउँछन्।
‘व्यापार व्यवसाय गर्न सहज र पर्याप्त पैसा छैन। बैंकको ब्याजदर उच्च छ। देशको समग्र आर्थिक अवस्था नै अस्तव्यस्त भएको बेला मोबाइल फोनको व्यापार पनि अछुतो रहन सकेको छैन,’ मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले भने।
मोबाइल आयातकर्ताहरुले कोरोना महामारीकालमा माग उच्च हुँदा हौसिएर स्मार्टफोन आयात गरेका थिए। तर, सरकारले देशको आर्थिक स्थिति जोगाउन आयातमा कडाई गरेसँगै स्मार्टफोन व्यापार तंग्रिन सकेको छैन।
बजारमा स्मार्टफोनको माग उत्साहजनक नभएको भन्दै व्यवसायीहरुले मन खोलेर आयात गर्न सकेका छैनन्। राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्थासमेत हटाइसकेको अवस्थामा मागमा सुधार नआउँदा स्मार्टफोन बजार थप खस्किएको छ।
बैशाखदेखि फागुनसम्म कस्तो रह्यो स्मार्टफोन आयात?
गत बैशाखबाट असार मसान्तसम्म ६ सय अमेरिकी डलरमाथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि स्मार्टफोन आयातमा थप कडाइ गर्दै सरकारले साउनबाट ३ सय डलरमाथिमा प्रतिबन्ध लगायो।
मंसिर मसान्तपछि भने सरकारले स्मार्टफोन आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको थियो। प्रतिबन्ध फुकुवापछि पनि स्मार्टफोन व्यापारमा रौनक देखिएको छैन।
गत बैशाखमा १ अर्ब ९६ करोड रुपैयाँबराबरको ३ लाख ६४ हजार थान स्मार्टफोन आयात भएको थियो। जसबाट सरकारले करिब ३१ करोड रुपैयाँ भन्सार संकलन गरेको थियो।
जेठमा भने स्मार्टफोन आयात थप प्रभावित बन्न पुग्यो। जेठमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको २ लाख २१ हजार थान फोन भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसबाट सरकारले १७ करोड ७९ लाख रुपैयाँ भन्सार संकलन गरेको थियो।
असारमा स्मार्टफोन आयात संख्यामा थप गिरावट आयो। अघिल्लो दुई महिनाको तुलनामा यो महिना आयात संख्या घटेपनि मूल्यका हिसाबले बढी भित्रियो।
असारमा २ अर्ब ८२ करोड रुपैयाँ बराबरको १ लाख ७६ हजार थान स्मार्टफोन भित्रिएको थियो। सरकारले असारमा ५२ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ।
नयाँ आर्थिक वर्ष साउनमा पनि असारकै सहरमा फोन भित्रियो। खासै फोन बजारमा रौनक देखिएन। प्रिमियम फोनहरुको आयात रोकिँदा सस्ता फोनको व्यापारले स्मार्टफोनको बजार धानेको थियो।
साउनमा २ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ लाख ७६ हजार २४९ स्मार्टफोन नेपाल भित्रिएको थियो। जसका कारण सरकारले आर्जन गर्ने राजस्व अघिल्लो महिनाको तुलनामा घटेर ४८ करोड रुपैयाँमा सीमित बन्न पुग्यो।
भदौमा भने यो वर्षको सबैभन्दा बढी मूल्यको फोन भित्रिएको छ। दशैँ-तिहारसहितका चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरुले बढी मूल्यका फोन नेपाल भित्र्याएको देखिन्छ।
भदौमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ६२ हजार थान स्मार्टफोन भित्रिएको विभागको तथ्यांक छ। भदौमा सरकारले उठाउने राजस्वसमेत उल्लेख वृद्धि भएको थियो। सरकारको यो महिना स्मार्टफोन आयातबाट ६७ करोड ३१ लाख रुपैयाँ भन्सार उठाएको थियो।
असोजमा भने पुन: स्मार्टफोन आयात घट्न पुग्यो। चाडबाडलाई लक्षित गर्दै अघिल्लो महिना फोन भित्र्याएपछि नेपाली बजारमा त्यसपछि भने केही महिना स्मार्टफोन व्यापार सुस्त हुने गरेको व्यापारी बताउँछन्। त्यसैको असर असोजमा परेको देखिन्छ।
असोजमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ लाख ७९ हजार थान फोन भित्रिएको छ। यो महिना फोन आयातबाट ४३ करोड ८९ लाख रुपैयाँ राजस्व उठेको थियो।
त्यसैगरी, कात्तिकमा स्मार्टफोन आयात थप कमजोर बनेको थियो। यो महिना १ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ लाख १० हजार सेट मात्रै भित्रिएको थियो। सरकारको राजस्वमा पनि थप गिरावट आउँदै २९ करोड ४२ लाख रुपैयाँमा सीमित बन्न पुगेको थियो।
मंसिरमा स्मार्टफोन आयातमा अत्यधिक कमी आएको थियो। यो महिना स्मार्टफोन आयात संख्या लाख भन्दा तल झर्यो। मंसिरमा १ अर्ब रुपैयाँ बराबरको ७४ हजार थान मात्रै स्मार्टफोन नेपाल आयो। भन्सार पनि जम्मा २० करोड ५२ लाख रुपैयाँमा झर्न पुग्यो।
पुस र माघमा भने स्मार्टफोन आयात केही बढ्न थालेपनि अवस्था सन्तोषजनक हुन सकेन। पुसमा १ अर्ब ८० करोड रुपैयाँबराबरको ९१ हजार थान र माघमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ लाख भन्दा बढी थान स्मार्टफोन भित्रिएको थियो। पुसमा ३३ करोड ६२ लाख र माघमा ३२ करोड ८३ लाख रुपैयाँ सरकारले स्मार्टफोन आयातबाट भन्सार उठाएको थियो।
फागुनमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ८९ हजार ७५४ थान स्मार्टफोन आयात भएको छ। जसबाट सरकारले ३४ करोड २१ लाख रुपैयाँ भन्सार संकलन गरेको छ।