जर्मनीका फुटबल विश्वकप विजेता मिडफिल्डर मेसुट ओजिलले संन्यास लिएका छन्। ३४ वर्षको उमेरमा ओजिलले व्यावसायिक फुटबलबाट संन्यास लिएका हुन्।
स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब आर्सेनलमा समेत मिडफिल्डर रहिसकेका ओजिल २०१४ को ब्राजिल विश्वकप जर्मनीले जित्दा त्यसको एक हिस्सेदार थिए।
२०१८ मै उनले जर्मनी राष्ट्रिय टिमबाट संन्यास लिएका थिए। जतिबेला जर्मनीमा आप्रवासीको संख्या बढेकोबारे बहस जारी थियो भने टर्कीएका राष्ट्रपति तय्यीप एर्दोगानसँग फोटो खिचाएपछि ओजिलको आलोचना भएको थियो। उनले आफ्नो टर्किस मूलका कारण आफू ‘विभेद’मा परेको बताएका थिए।
‘म व्यावसायिक फुटबलबाट तत्काल संन्यास लिने घोषणा गर्दैछु। मैले करिब १७ वर्ष एक व्यावसायिक फुटबल खेलाडी बन्ने सुअवसर पाएँ र म यो अवसरको लागि अविश्वसनीय रूपमा आभारी महसुस गर्छु,’ ओजिलले बुधवार आफ्नो सोसल मिडियामा एक विज्ञप्तिमार्फत भनेका छन्।
Thank you ❤️ pic.twitter.com/Aqr4pB5SI2
— Mesut Özil (@M10) March 22, 2023
उनले थपे, ‘तर, पछिल्लो हप्ता र महिनाहरूमा, चोटको शिकार बनिरहँदा फुटबलको ठूलो मञ्ज छोड्ने यो नै उचित समय हो भन्ने कुरा झन्-झन् स्पष्ट भएको थियो।’
जस्तोसुकै परिस्थिति र जुनसुकै क्लबमा रहँदा पनि साथ र समर्थन गर्ने आफ्ना फ्यानहरुलाई उनले धन्यावाद दिएका छन्।
उनले सन् २०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएपछि आफूले ‘जातीयवादी’ आक्रमणको अनुभव गरेको बताए।
‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’ ओजिलले जर्मन राष्ट्रिय टोलीबाट बाहिरिँदै गर्दा भनेका थिए।