PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय !, मोदीविरुद्धको अभिव्यक्ति बन्यो कारण



पहिलोपोस्ट

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय !, मोदीविरुद्धको अभिव्यक्ति बन्यो कारण
Photo : Deccan Herald

भारतको सुरत जिल्ला अदालतले भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई 'मोदी थर' विरुद्ध दिएको अभिव्यक्तिमा दोषी ठहर गरेको छ।

राहुलले सन् २०१९ मा चुनावी र्‍यालीका क्रममा 'सबै चोरहरुको साझा थर कसरी मोदी हुन्छ?' भनेर प्रश्न गरेका थिए। उनको यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीका सांसद र गुजरातका पूर्व मुख्यमन्त्री पुरनेस मोदीले फौजदारी मानहानी मुद्दा दायर गरेका थिए।

राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै सो अभिव्यक्ति दिएका थिए। मोदीसँगै उनले निरब मोदी र ललित मोदीको नाम पनि लिएका थिए।त्यसबेला राहुललाई मोदीले 'पप्पु' भनेर भन्ने गर्थे। यस विषयमा पनि चर्को बहस भएको थियो। यद्यपि, कर्नाटकको कोरलमा भएको चुनावी कार्यक्रममा मोदी समुदायको नै अपमान हुने गरी राहुलको अभिव्यक्ति आएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

गत शुक्रवार बहस सकिएको थियो। र, आज फैसला सुनाउने मिति तय गरेको थियो। फैसला सुन्न राहुल पनि आज सुरत पुगेका थिए। अदालतले आदेश सुनाउँदा उनी इजालसमा नै थिए।

अदालतले राहुललाई दुई वर्षको जेल सजाय सुनाएको छ। यद्यपि, राहुललाई अदालतले जमानतमा रिहा गर्न पनि आदेश दिएको छ।

भारतीय जनता पार्टीले फैसलाको स्वागत गरेको छ। भारतको केन्द्र सरकारमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका किरण रिजिजुले भने फैसलाको पूर्ण पाठ आएपछि 'कमेन्ट' गर्ने बताएका छन्। तर, राहुलको बोलीका कारण कांग्रेस पार्टीलाई जहिलै प्रभाव पर्ने धेरै कांग्रेसी साथीले आफूलाई भन्ने गरेको उनले बताएका छन्।

'धेरै कांग्रेसका सांसदहरुले राहुलको व्यवहारका कारण कांग्रेस पीडित भएको बताएका छन्,' उनले भने।

पछिल्लो समय राहुल गान्धीविरुद्ध भाजपाले प्रहार गर्दै आइरहेको छ। राहुलको भारत जोडो यात्रा र क्याम्ब्रिज विश्वविद्यालयमा उनले दिएको भाषणलाई आधार बनाइर भाजपाले संसदमा समेत विरोध जनाएको थियो। क्याम्ब्रिजमा राहुलले मोदीमाथि प्रहार गर्नुका साथै कश्मिरमा लडाकुहरुले आफूलाई हेरिरहेको बताएका थिए।

भाजपाले भने अन्तर्राष्ट्रिय फोरममै प्रधानमन्त्री मोदीविरुद्ध बोलेको भन्दै आलोचना गरेको थियो। राहुलले आफ्नो कुरा संसदमा राख्ने भने पनि उनलाई मौका नै दिइएन। यस्तै, भारत जोडो यात्राका बेला को को सँग भेटेको भन्दै अहिले उनीविरुद्ध अनुसन्धान पनि भइरहेको छ।

आजै भारतको माथिल्लो सदन राष्ट्रियसभामा केन्द्रीय मन्त्री पियुस गोयलले कांग्रेस नेता राहुल गान्धीले माफी माग्नु पर्ने बताएका थिए। जसकारण बैठकमा कांग्रेस र सत्तारुढ सांसदबिच बहस भएको थियो। आज बस्ने लोकसभा बैठकमा पनि यो मुद्दा उठ्ने देखिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell