काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भविष्यबारे देखिएका आशंकाको निवारण भएको बताएका छन्।
सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले विश्वासको मतपछि राजनीतिक स्थिरतबारे उठेका शंका उपशंका मेटिएको बताएका हुन्।
'प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएका छन्,' प्रचण्डले भने।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको जनादेशअनुसार सरकारले काम गरिरहेको उनले बताए। सरकार विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा रहेको प्रचण्डले बताएका हुन्।
'निराशा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा यहाँहरूको दर्बिलो ऐक्यबद्धता र सहयोगको अपेक्षा गरेको छु,' उनले भने।