
काठमाडौं : ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित साँस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ।
गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा कलाकार पुस्कर गुरुङले जानकारी दिए।
पाँच दिनसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन्। साथै फेस्टिभलमा माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटिका ‘चण्डालीका’ समेत मञ्चन हुनेछ।
महोत्सवको उद्घाटनमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिने गुरुङले बताए। सन् २०१२ मा सुनील पोखरेललाई पुरस्कार दिएयता डबली अवार्ड रोकिएको थियो। ११ वर्षपछि यो अवार्डले पुन: निरन्तरता पाउन लागेको हो।
बुद्धबाट संसारभरका मानिसहरु प्रभावित रहेको उल्लेख गर्दै बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल सञ्चालन गरेको सुनाएँ।
‘विश्वभरि नै नाटकसम्बन्धि थुप्रै फेस्टिभल भइरहेका हुन्छन्। तर, बुद्धको थिममा किन थिएटर फेस्टिभल नगर्ने भनेर यो काम सुरु गरेको हुँ। नाटकमा मनोरञ्जन हुन्छ, जसले दर्शकलाई बुद्धको ज्ञान र दर्शनलाई बुझ्न सजिलो हुन्छ। बुद्धको सन्देश र दर्शनहरु संसारभरि चिनाउनु नै फेस्टिभलको उद्देश्य हो,’ उनले भने।
यसअघि फेस्टिभलमा विदेशी नाटकहरु पनि समावेश गरिएको थियो। तर, भनेजस्तो राम्रो कथावस्तु भएको विदेशी नाटक नआएर यसपटक नेपाली नाटक समेटिएको उनको दाबी छ।
यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थियटरको आयोजनमा हुन लागेको हो।