PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चीनले बनाएको चक्रपथमा कुनै समस्या छैन, तर नेपालले बनाएको कलंकी बल्खु सडकको दुर्गति कसरी ?



शुक्र गिरी

चीनले बनाएको चक्रपथमा कुनै समस्या छैन, तर नेपालले बनाएको कलंकी बल्खु सडकको दुर्गति कसरी ?

काठमाडौं: ‘कलंकी-बल्खु नवनिर्मित रिङरोडको सर्भिस ट्रयाक धमाधम भत्काईंदैछ। यो सडक गज्जब राम्रो थियो जहाँ म दिनदिनै हिँड्ने गर्छु। किन भत्काउन थालियो केही जानकारी छैन। काठमाडौंका अन्य सडकको हालत खराब छ, ती सडक बनाएको भए हुने! तर यहाँ रिङरोड परियोजनाअन्तर्गत बनेको गज्जब सडक भत्काईंदै पो छ,’ चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले फेसबुकमा लेखेका छन्।

उनी मात्रै होइन त्यो सडक खण्डको सर्भिस ट्रयाक भत्काइएकोमा धेरै अचम्ममा परेका छन्। राम्रै सडक त्यो पनि केही वर्ष अघि अर्बौं लगानी खर्चिएर बनाएको सडक किन भत्कारहेको छ त ?

सडक डिभिजनका इन्जिनियर नेत्र पौडेलका अनुसार यो सडकको सर्भिस लेनमा बेस कमजोर भएका कारण यसरी कालोपत्रे भत्काइएको हो।

‘यो सडक खण्डको मर्मत कार्य गर्न क्रममा सडक डिभिजन काठमाडौं र ललितपरले उपत्यकामा रहेका सबै सडकहरुको अवस्था निरीक्षण गरिरहेको थियो,’ उनले भने, ‘त्यही अनुसार कलंकीदेखि बल्खुसम्म रहेको १३०० मिटर सडकको सर्भिस लेनमा बेस कमजोरी अर्थात बेस फेल्ड भएको समस्या देखियो।’

उनका अनुसार यो सडकखण्डमा बेस कमजोर भएका कारण कालोपत्रे चर्किने, कतै खाल्डो पर्ने जस्ता समस्या देखिएका थिए। 

त्यसपछि सबै समस्याको बारेमा सडक विभागमा छलफल गरी यो सडक पुनर्निर्माण गर्नेगरी विभागले निर्णय गरेको उनले बताए। त्यही अनुसार विभागले यो सडकसहित ५ वटा सडकको निर्माण गर्न भ्याटबाहेक साढे २९ करोडमा ठेक्का लगाएको उनले बताए।

जसमा कलंकीदेखि बल्खु, बालकुमारी पुलदेखि कोटेश्वरसम्म, महाराजगञ्जदेखि लैनचौरसम्म, लैनचौरबाट बालाजु बाइपाससम्म र साँखुदेखि भोटेचौरसम्मको सडकहरु मर्मतसम्भार गर्न ठेक्का लगाइएको हो।

यो सडकको मर्मतसम्भारका लागि विश्व बैंकले सहयोग गरेको छ। चीन सरकारको सहयोगमा यो सडक निर्माण भएपनि सर्भिस लेन नेपालले नै बनाएको हो। यसैगरी, दोस्रो खण्ड विस्तारमा सर्भिस लेन निर्माण काम नेपाल सरकारले नै गरिरहेको छ।

‘नेपाल सरकारले निर्माण गरेको सो लेनमा सिमेन्ट बेस पनि राखिएको पाइएन। तर, यसमा हाल्नुपर्ने सामानहरु राम्रै थियो,’ उनले भने, ‘थिकनेसहरु पनि सबै पुगेकै देखिन्छ। अब यसमा कसको गल्ती भन्ने कुरामा थाहा छैन।’

उनका अनुसार यो क्षेत्रमा माथिबाट पहिलेदेखि नै पहिरो आइरहने भएकाले बेस सेट गर्न कठिन भएको हो। यो सडकमा बेस राम्रोसँग हालेर फेरि कालोपत्रे गर्ने योजना रहेको उनले बताए। यो सडकको अन्य स्थानहरुमा भने यस्तो समस्या नदेखिएको पौडेल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell