सिमरा : बिहीबारबाट सिमरामा सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा भरतपुर फुटबल क्लब प्रवेश गरेको छ। आयोजक नव जनजागृती यूवा क्लबलाई ३-१ को अन्तरले पराजित गर्दै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो।
सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो।
भरतपुरका लागि खेलको ७ औं मिनेटमै भिष्म क्षेत्रीको गोल गरेका थिए। सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा गोल फर्कायो। भरतपुरका डिफेण्डरले डिबक्स भित्र 'फाउल' गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए।
त्यसको केहि मिनेटमै भरतपुरले सिमराविरुद्ध पेनाल्टी अवसर पायो। भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र 'फाउल' गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पुनः अग्रता बनायो। सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो।
आयोजकविरुद्ध हाबी भएको भरतपुरले खेलको अन्तिम मिनेटमा सुनील श्रेष्ठले थप एक गोल गरे। दोस्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए। उनको गोलले नै भरतपुरले जित निकाल्यो।
आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे।
शुक्रबार वीरगंज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीबिच खेल हुनेछ।