PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित



रासस

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं : नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो।

नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन्। हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए। नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन्।

आर्थिक वर्ष २०७८-७९ मा नेपालमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामीमध्ये ९१.५ प्रतिशत बिरामी निको भएका छन्। क्षयरोगीमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र आठ, ७ प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन्।

केन्द्रका निर्देशक डा शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए।

'झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन। यो एक चुनौतीको रुपमा रहेको छ', उनले भने।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार ८०० रहेको छ। यो संख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो। विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ।

आर्थिक वर्ष २०७८-७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा थिए। विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरि एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्। सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८-७९,२०८२-८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन्।

केन्द्रका निर्देशक डा शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान संचालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए। आर्थिक वर्ष २०७८-७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान संचालन गरिएको थियो।  चालु आर्थिक वर्षमा १०० स्थानीय तहमा क्षयरोग मुक्त अभियान संचालन भइरहेको छ। आगामी चार वर्षभित्र ७५३ स्थानीय तहमै अभियान संचालन गर्ने लक्ष्य छ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार ९७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell