PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्तरोन्नति, ३०० शय्या क्षमतासहित ६ तलाको भवन बनाइने



पहिलोपोस्ट

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्तरोन्नति, ३०० शय्या क्षमतासहित ६ तलाको भवन बनाइने

काठमाडौं : टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने भएको छ। यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले बिहीबार २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँमा ठेक्का 'अवार्ड' गरेको छ।

यसको ठेक्का कोनटेक- गौरी पार्वती जेभीले पाएको छ। भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन, अप्रेसन थियटर, बेड लगायतका कामका लागि तीन अर्ब ८६ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। तर यो कम्पनीले सबै भन्दा कम कबोल गरेको कारण ठेक्का पाएको हो।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा ल्याएको बजेट कार्यक्रममा चालु वर्षमा काठमाडौंमा ३०० बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने भनिएको थियो। त्यही अनुसार उक्त योजना अनुसार अहिले अस्पताल निर्माणको ठेक्का लागेको हो।

यो अस्पताल निर्माणका लागि गुरुयोजना समेत बनाइएको छ। शुक्रराज अस्पतालका नाममा ७० रोपनी १ आना जग्गा छ। अस्पताल हाल १६ रोपनीमा संचालित छ।

स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० अनुसार ३०० शय्याको अस्पताल संचालन गर्न ३२.४८ रोपनी आवश्यक पर्छ। अन्य क्षेत्रमा यसलाई पुग्ने जग्गा नपाएपछि हालकै टेकु अस्पताललाई स्तरोन्नति गर्न लागिएको हो।

नयाँ भवन निर्माणअघि हालका केही भवन भत्काउनुपर्नेछ। करिब १७ रोपनी जग्गामा ६ तले भवन निर्माण गरिने अस्पतालले जनाएको छ। आयोजनाका अनुसार यो भवनको निर्माण सुरु भएको साढे तीन वर्षमा तयार हुने लक्ष्य राखिएको छ।

केही समयावधिमा निर्माण व्यवसायी र आयोजनाबिच सम्झौता हुने र निर्माणको कामले तीब्रता पाउने आयोजनाले जनाएको छ।

भवनमा के के रहन्छ ?

डिजाइन अनुसार ३०० शय्याको सो नयाँ भवन ६ तलाको हुनेछ। सबैभन्दा तलको बेसमेन्टमा ५० वटा चारपाङग्रे र २ सयभन्दा बढी मोटरसाइकल अट्ने पार्किङ रहनेछ। भुइँतलामा आकस्मिक, बहिरंग कक्ष र रेडियोलोजी विभाग रहनेछन्। पहिलो तलामा प्रयोगशाला, बहिरंग कक्ष, फिभर वार्ड रहनेछ।

दोस्रो तलामा अनुसन्धानमूलक विशेष प्रयोगशाला, जनरल वार्ड, इमर्जिङ आइसोलेसन वार्ड रहनेछन्। तेस्रो तलामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, मेलिगेन्सी वार्ड, नवजीवन वार्ड रहनेछन्। चौथोमा रेबिज-टिटानस, छालारोग विभाग र टीबी वार्ड रहेनछन्।

त्यसैगरी पाँचौ तलामा ३० बेडको आईसीयू बेड, शल्यक्रिया, भीभीआईपी क्याबिन र सेमिनार हल रहनेछ। छैठौं तलामा लन्ड्री तथा क्यान्टिन रहने अस्पतालले जनाएको छ। यसैगरी, बिरामी र कर्मचारीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell