PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विराटनगरमा विराट गोल्डकपको उमंग : आयोजक टिमको विजयी सुरुवात, आज जावलाखेल र आर्मी भिड्ने

विराटनगरमा विराट गोल्डकपको उमंग : आयोजक टिमको विजयी सुरुवात, आज जावलाखेल र आर्मी भिड्ने

प्रवीण रानाभाट/पहिलोपोस्ट


विराटनगर : सातौँ संस्करणको विराट गोल्डकप बिहीवारदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु भएको छ। प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ।

हिजो भएको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिडेका थिए। साँझ भएको खेलमा सिटी क्लबले पुलिसलाई पराजित गर्‍यो। सिटीका लागि आशिष श्रेष्ठले इन्जुरी समयमा गोल गरेर आफ्नो टिमको जित पक्का गरेका थिए।

आज विभागिय टोली त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरि ८ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए।

गोल्डकपको विजेता टिमले २० लाख १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले १० लाख २५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जावलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए।

यसपटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही २५ हजार तथा प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो। पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता भइरहेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell