पोखरा : आफनो आमाका लागि औषधी लिन बिहिबार क्षयरोग उपचार केन्द्र पोखरा पुगेका थिए एक युवा। तीन महिनादेखि औषधी सेवन गरिरहेकी उनको आमालाई रोग निको हुने चरणमा छ। चिकित्सकले भने अनुसार नियमित औषधी सेवन गरिरहेपछि उनको आमाको स्वास्थ्यमा सुधार आएको हो।
उनी जस्तै गरि केन्द्रमा कोही औषधी लिन वा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए। केन्द्रमा पुगेका सबै भने आफनो परिचय गोप्य नै राख्न चाहान्थे। चिकित्सकका अनुसार क्षयरोगका कारण समाजमा तिरस्कार सहनुपर्छ कि भन्ने डरले अधिकांश बिरामी डराउँछन्। उपचार गरिरहेका बिरामीहरु पनि यसमा बारे खुलेर बोल्न खोज्दैनन्।
मानिसको आँखाले देख्न नसकिने 'माइकोब्याक्टेरियम टयुबरक्युलोसि' नामक किटाणुले लाग्ने यो रोग सरुवा हो। जसकारण पनि मानिसहरु यो रोगलाई भयको रुपमा लिन्छन्। तर, नियमित औषधी सेवन गरे यो रोगबाट निको हुनेको प्रतिशत ९२ छ।
क्षयरोगका बिरामीसम्म पुग्न असफल
सरकारले क्षयरोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय रणनीति लिएको छ। पहिलाका वर्षहरुभन्दा यसबारे जनचेतना फैलाउन सरकार अहिले सफल बनिरहेको छ। तर, अझै पनि जुन हिसाबले समुदायस्तरमा जनचेतना पुग्नुपर्ने हो त्यसमा कमजोरी देखिएको छ।
नेपालमा कुल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या क्षयरोगबाट संक्रमित भएको अुनमान एक सर्वेक्षणले गरेको छ। जसमध्ये करीव ६० प्रतिशत क्षयरोग वयश्क व्यक्तिहरूमा भएको अनुमान छ। सन् २०२१ मा राष्ट्रिय क्षयरोग प्रीभ्यालेन्स सर्वेक्षणले नेपालमा वार्षिक नयाँ बिरामीहरू थपिने दर उच्च छ। प्रत्येक दिन १६ जना नयाँ बिरामी थपिएको अनुमान सर्वेक्षणले गरेको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार प्रत्येक एकलाख बिरामीमा २४५ जना क्षयरोगबाट संक्रमित हुन्छन्। तर, जम्मा १३९ जनाको रोग पत्ता लाग्ने र उपचार विधि अपनाएका हुन्छन्। बाँकी १०६ जना बिरामी उपचार सेवामा आइपुग्न सकेका छैन।
प्रत्येक वर्ष ३ हजार २३० भन्दा बढी क्षयरोगका बिरामी उपचार केन्द्रसम्म नआएको तथ्यांकले देखाउँछ। नियन्त्रण केन्द्रको २०७८-२०७९ वार्षिक प्रतिवेदन अनुसार ३७ हजार ८६१ नयाँ बिरामी दर्ता भएका छन्। क्षयरोगको उपचार सफलता ९१ प्रतिशत हुँदा मृत्यु दर ३ प्रतिशत छ। यस्तै यही आवमा (RR/MDR TB) का ९४२ बिरामी पत्ता लाग्दा जम्मा ६५९ ले उपचारको लागि दर्ता गराएका थिए।
गण्डकीमा बढ्दै क्षयरोग बिरामी
गण्डकीमा प्रत्येक वर्ष ५ हजार ६७७ नयाँ बिरामी थपिएको अनुमान छ। आर्थिक वर्ष २०७८-२०७९ मा जम्मा २ हजार ४४७ बिरामी उपचारमा आएका छन्। कास्की र नवलपरासी क्षयरोग बढी पत्ता लाग्ने जिल्लामा पर्छ। यी दुई जिल्लामा प्रदेशको ५२ प्रतिशत बिरामी रहेका छन्।
आर्थिक वर्ष २०७९-८०को आठ महिनामा अघिल्लो दुईवर्षको भन्दा क्षयरोका बिरामी बढेको छन्। आर्थिक वर्ष २०७७-२०७८ मा १ हजार ८६८ जना बिरामी हुँदा आर्थिक वर्ष २०७८-२०७९मा २ हजार ४४७ बिरामी रहेको तथ्यांकले देखाउँन्।
यस आर्थिक वर्षको आठ महिनामा मात्र १ हजार २५६ जना बिरामी पहिचान भएका छन्। जसमध्ये सबैभन्दा बढी कास्कीमा ३०६ जना छन्। त्यसपछि क्रमश: नवलपरासीमा २९१, स्याङ्जामा १५२, तनहुँमा १५०, बाग्लुङमा १२३ जना र गोरखामा १०३ जनामा क्षयरोगका बिरामी देखिएका छन्।
यस्तै, यसबाट कम प्रभावित जिल्ला क्रमश: लमजुङमा ४८, पर्वतमा ४३, म्याग्दीमा ३३, मनाङमा ३ र मुस्ताङमा ४ नयाँ बिरामी भेटिएका छन्।
यो तथ्यांकले गण्डकीमा सर्तकताको अपनाउनुपर्ने घण्टी बजाइसकेको प्रदेश क्षयरोग नियन्त्रणका कार्यक्रम संयोजक राजकुमार यादव बताउँछन्।
यता, बच्चामा हुने क्षयरोग संक्रमण पनि बढ्दो छ। आर्थिक वर्ष २०७७-०७८ मा ७५ बिरामी, २०७८-०७९ मा ९५ जना बिरामी थिए। यस आर्थिक वर्षको आठ महिनामा ४४ जना बिरामी देखिएका छन्। क्षयरोग संक्रमितको संख्या महिला भन्दा पुरुष बढी भए पनि रोगबाट मृत्यु हुनेमा महिलाको संख्या बढी रहेको यादव बताउँछन्।
‘रिस्क जोनमा नेपालमा’
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो केही वर्ष यता औषधिले नछुने-प्रतिरोधि क्षयरोग अर्थात् (ड्रग रेसिस्टेन्ट, डीआर)को प्रकोप उच्च छ। उच्च प्रकोप भएका देशको सूचीमा विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा ३० देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। नेपालमा पनि औषधीले नछुने क्षयरोगको बिरामी पनि बढ्दो क्रममा छन्।
आर्थिक वर्ष २०७८-२०७९मा ५६७ जना डीआर बिरामी देखिएका थिए। जसमध्ये पनि ३३७ जना छोटो अवधिको बिरामी र २३० जना लामो अवधिको बिरामी थिए।
गण्डकीमा २०७८-०७९मा ५३ जना डीआर बिरामी देखा परेका थिए। जुन तथ्यांक बढ्दो हो। २०७६-२०७७ मा २८ र २०७७-२०७८मा ३१ जना बिरामी थिए।
सरकारले क्षयरोगका लागि राष्ट्रिय नीति अपनाउँदै क्षयरोग बिरामीलाई नि:शुल्क उपचार तथा कडा खाल्को बिरामीलाई नि:शुल्क आवास गृहको सेवा सरकारले दिएको छ। सरकारले यसबाहेक आवास गृहमा बस्ने बिरामीलाई एक हजार रुपैयाँ र घरमा बस्ने बिरामीलाई ३ हजार रुपैयाँ पोषण भत्ता दिँदै आएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका ८ वटा देशमा क्षयरोका दुई तिहाई बिरामी रहेका छन्। जसमध्ये भारतमा २८ प्रतिशत र चीनमा ७.४ प्रतिशत बिरामी छन्। भारत र चीनको बीचमा रहेकाले नेपाल 'रिस्क जोन'मा रहेको बताउँछन् यादव।
लक्षण नै नभए पनि हुन सक्छ क्षयरोग
सामान्यतय क्षयरोग भन्ने बित्तिकै खोकीको लक्षणदेखि हाल्ने मानिन्छ। तर, चिकित्सकको अनुसार सामान्य लक्षण नहुनेलाई पनि क्षयरोग देखिएको छ। सामान्य बुझाइमा फोक्सोको मात्र क्षयरोग हुन्छ भन्ने बुझिन्छ। तर, फोक्सो बाहेक शरीरका अन्य भागमा पनि क्षयरोग लाग्न सक्छ।
चिकित्सकका अनुसार फोक्सोको क्षयरोग र फोक्सो बाहेकका गरि दुई प्रकारका क्षयरोग हुन्छन्। यस बाहेक पनि फोक्सोको क्षयरोगका सबै बिरामीको खकारमा क्षयरोगका कीटाणु देखिने र नदेखिने हुन्छ।
यस्तै पेट, आन्द्र, हाडजोर्नी, मुटुको झिल्ली, मस्तिष्कको झिल्ली, ग्रन्थी तथा शरीरका अन्य अंगमा क्षयरोग हुनसक्छ।
फोक्सोमा हुने क्षयरोगको लक्षणमा साँझपख ज्वरो आउने, कमजोरी हुने, खकारमा रगत देखिने आदि हुन्छ। चिकित्सकका अनुसार सबै प्रकारको क्षयरोगमा खोकी लाग्ने,खकारमा रगत देखिने वा अन्य लक्षण देखिन्छ भन्ने हुँदैन।
गण्डकीमा क्षयरोग परीक्षण र निदान गर्नका आठवटा अस्पताल छन्। पोखरा, तनहुँ, स्याङ्जा, नवलपरासी, बाग्लुङ र गोरखामा उपचार सुविधाका लागि अस्पताल छन्।
क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य
सरकारले क्षयरोग नियन्त्रणका लागि राष्ट्रिय रणनीतिक योजना २०७८-२०७९,२०८२-२०८३ ल्याएको छ। 'दीर्घकालिन सोच : क्षयरोग मुक्त नेपाल निर्माण'को लक्ष्य राखेको सरकारले आर्थिक वर्ष २०७७-२०७८ को २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दरलाई आर्थिक वर्ष २०८२-२०८३ को अन्त्यमा सम्म १८१ प्रति लाख जनसंख्यामा पुयाउने लक्ष्य राखेको छ। यस्तै, आर्थिक वर्ष २०७७-२०७८को ५८ प्रति लाख जनसंख्याको मृत्युदरलाई २०८२-२०८३को अन्त्यसम्म २३ प्रतिलाख जनसंख्यामा झार्ने लक्ष्य राखेको छ। यस्तै सरकारले आर्थिक वर्ष २०९१-९२ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखेको छ।