काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।
प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५६४ रहेको छ। जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार ५७ रहेको छ।
जनगणना अनुसार पुरुषको जनसंख्या ४८.८७ प्रतिशत र महिलाको जनसंख्या ५१.१३ प्रतिशत रहेको छ। जस अनुसार लैङ्गिक अनुपात ९५.५९ हुन आउँछ सो अनुपात २०६८ (९४.१६) को तुलनामा केही बढी हो।
यस्तै, राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८
देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । कुल अन्य लिङ्गी मध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ।
वि.सं. २०६८ सालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये पुरुष र महिलाको जनसंख्या क्रमशः १,२८,४९,०४१ (४८.५ प्रतिशत) र १,३६,४५,४६३ (५१.५ प्रतिशत) रहेको थियो । यसरी २०६८ देखि २०७८ सालसम्म नेपालमा कुल २६,७०,०७४ जनसंख्या थप भएकोमा १४,०४,५१० पुरुष र १२,६५, ५६४ जना महिला थप भएको देखिन्छ ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश गत २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । गत २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६१ प्रतिशत पुगेको छ । हिमाली
क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल (२०७८ मा) ४०.३१ प्रतिशतमा झरेको छ ।